१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पाण्डेको परिवार खुसिले गदगद

sarusaru
१९ कार्तिक २०७४, आईतवार ०८:२२

काठमाडौं— झण्डै छ महिनाअघिदेखि बेपत्ता स्याङ्जाका गंगाधर पाण्डे काभ्रेपलाञ्चोकमा फेला परेका छन्। मानसिक सन्तुलन गुमाएका पाण्डेलाई समाजसेवी दुर्गानाथ दाहालले फेला पारी परिवारको जिम्मा लगाएका हुन्।

केही दिनअघि मानसेवा आश्रम ललितपुर र दाहालको संयुक्त पहलमा उनलाई बनेपा नगरपालिका–३ मा फेला पारी सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरिएको र परिवारसँग सम्पर्क भएको जानकारी दिए। पाण्डेलाई शनिबार मानसेवा आश्रममा परिवारको जिम्मा लगाइएको दाहालले जानकारी दिए।

  बेसहारा व्यक्तिको उद्धार गरेर परिवारमा पुनःमिलन गराउन पाउँदा आफूलाई करोडौको चिठ्ठा परेको अनुभव भएको दाहालले प्रतिक्रिया दिए। परिवारसँग भेट नहुँदासम्म उनलाई सोही आश्रमले औषधोपचार गर्ने र खानबस्ने व्यवस्था गरेको थियो।

आफूले माया मारेको छोरा छ महिनापछि भेट्दा परिवारमा खुशीयाली छाएको पाण्डेका बुबा लक्ष्मीप्रसादले बताए। दाहालले सामाजिक सञ्जालमा पाण्डेको तस्वीर सार्वजनिक गरेपछि उनको परिवारले सम्पर्क गरेको थियो।

आश्रम र दाहालको प्रयासमा यसअघि पनि हराएका ३०० जनाभन्दा बढी व्यक्तिलाई पुनःमिलन गराउन सफल भएको मानवसेवा आश्रम ललितपुरका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए।