१५ चैत्र २०८०, बिहीबार
Follow Us

अन्तिम पटक खबरदार !

sarusaru
१९ कार्तिक २०७४, आईतवार १०:०७

कविता

कटेरीको अगाडि झिँजा बटुल्दै गरेकी
मेरी आमालाई नमस्कार गर्न
आउनुभएथ्यो हिजो पनि र भन्नुहुन्थ्यो –
बेपत्ता भएको छोरो फर्किनेछ अब ,
आँगनीको डिलमा कोदो
केलाउँदै गरेकी मेरी भाउजूलाई
सिन्दुरको सपना देखाउँदै भन्नुभएथ्यो
–फर्किन्छन् तिम्रा पतिदेव
दुःख नमान भनेर ।
तर नेताज्यू !
तपाईँले त मेरी आमाको
परेलीमा खाटा बसेको घाउ
कोट्याएर आला मात्र बनाइदिनुभयो ।
मेरी भाउजूको सिन्दुरको सपनालाई
सपना मात्र बनाइदिनुभयो ।
बाबाको थोत्रो कमिज फेर्ने
सपना चिथ्रा बनाइदिनुभयो ।

सानो दश वर्षे बालक बबुरो म
सुनिरहेथेँ कुराहरु
र बुनिरहेथेँ सपनाहरु मनमनै ।
देखेथेँ धापेखोलाको पानी
बारीका गराहरुमा ल्याएर
धेरै धान फलाउने सपना त्यतिबेला ।
चुनावमा तपाईँले जितेपछि
म ढुक्क भएँ , चामलको भात
खान पाउने आशामा

भिडहरुको पछि लाग्दै
परसम्म पुगेथेँ
तोतेबोलीमा तोताउँदै
पाटीको झण्डा बोकेर
तर हाम्रा बारीका पाटीमा
फल्ने धान अनि
धापेखोलाको पानी घैँटो
चरक्क चर्केर प्याट्ट फुटेझैँ भयो ,
फुट्यो सपना त्यसरी नै
जसरी फुट्यो भाउजूको
अगाडिकोे ऐना ।

हाम्रो घरमा त धेरै जोगीहरु
आए यस्तै कान चिरेका
अनि खरानी घसेका तर
सबै कृत्रिम रहेछन् ,
आँखामा भ्रम भयो ,
मनमा भ्रान्ति मात्र ।
अब त प्राकृतिक जोगी
आएपनि म पत्याउँदिन
कान चिरेको देखेर
अनि खरानी घसेको देखेर ।
ती त सर्वनाशी हुँदा रहेछन् ।

धेरै देखेँ यस्ता भेषधारीहरु
देशका कलुषित भावना
बोकेका अत्याचारीहरु ।
ल्हासाको सुन र
खासाका सामानहरु
गाउँमा ल्याउँछौँ भन्नेहरु ।
वीरबहादुर र फुलमायालाई
शान्तीका पाठ पढाउनेहरु
आज मच्चाइरहेछन् रडाको
तिनै युगयुगसम्म ।

मैले भनिसकेँ नेताज्यू !
तपाईँलाई मेरो दैलोमा आउने
अधिकार छैन भनेर
तैपनि टेड्नुभएन
भिख माग्नुभो हात पसारेर ।
अन्तिम चोटी मेरा बा ,आमा,
दाइ, भाउजू सबैका सबै
सपनालाई गाँठा पारेर
भिख दिन्छु तपाईँलाई ।
खबरदार !
यो भिख कतै नपोखियोस्,
कतै नछरियोस् ,
कतै नचुहियोस् ,
कतै अंशबण्डा नलाइयोस् ,
कतै बन्धक नराखियोस्
र ठेक्कापट्टा नगरियोस् ।
यत्ति सम्झनू – अन्तिम पटक खबरदार !