८ बैशाख २०८१, शनिबार
Follow Us

महन्थलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता, को-कसले उम्मेदवारी फिर्ता लिए ?

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १०:५८

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रमुख नेता विरुद्ध वागी उम्मेदवारी दिएका केहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गठवन्धन र पार्टीका आधिकारिक उम्मेदबारप्रति असन्तुष्टि जनाउदै उम्मेदबारी मनोनयन गरेका केही नेताले आफ्नो उम्मेदबारी फिर्ता लिएका हुन । सोही क्रममा पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध काठमाडौं क्षेत्र नम्बर दुईमा उम्मेदवारी दिएका एलपी श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर उम्मेदवारी फिर्ता लिएका छन ।
त्यस्तै, नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई समर्थन गर्दै महोत्तरी तीनबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेस उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन् । उदयपुर दुईमा प्रतिनिधि सभा सदस्यका लागि वागी उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनले वाम गठबन्धनका तर्फबाट माओवादीका हिमाल किरातीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन । प्रदेश सभामा भने उदयपुर दुई को क मा माओवादीले उम्मेदवार भेषकुमारी राउत हटाएर स्वतन्त्र माओवादी उम्मेदवार नारायणबहादुर मगरलाई समर्थन गरेको छ । त्यस्तै दाङ तीनमा वाम गठवन्धनका तर्फवाट वागी उम्मेदबारी दिएकी गायिका कोमल ओलीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
एमाले नेताहरुसँगको छलफलपछि उनले उम्मेदवारी फिर्ता गरेकी हुन । दाङ तीन को प्रदेश सभा कमा बाम गठवन्धनका तर्फवाट जगप्रसाद शर्मा विरुद्ध उम्मेदवारी दिएका पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्द्रिय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । उता मधेसी गठबन्धनबाट सप्तरी दुईमा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिएका राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले भने उम्मेदवारी फिर्ता लिएनन् । राजपाका महासचिव मनिष सुमनबिरुद्व लक्ष्मण यादवले दिएको बागी उम्मेदवारी भने फिर्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डाक्टर आरजु राणा देउवाविरुद्ध कैलाली पाँचमा बागी उम्मेद्धवारी दिएका विद्यार्थी नेता क्षितिज भण्डारीले पनि उम्मेद्धवारी फिर्ता लिएका छन् । उता, सल्यानमा बाम गठवन्धनविरुद्ध बागी उम्मेदवारी दिएका सवैले फिर्ता लिन अस्वीकार गरेका छन् । यसैबीच, नेपाली कांग्रेसले निर्वाचनमा दिएको वागी उम्मेदवारी फिर्ता नगरे पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी दिएको छ । संघीय समाजवादी फोरम र राजपाले पनि संयुक्त वक्तब्य प्रकाशित गरी वागी उम्मेदवारी दिनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।