१५ चैत्र २०८०, बिहीबार
Follow Us

अबको स्थायी सरकार वामगठबन्धनको : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १३:३१

ताप्लेजुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उहाँले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताउनुभयो ।

ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पार्नुभयो । पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उहाँको आग्रह थियो ।

स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत उहाँले बताउनुभयो ।

ताप्लेजुङबाट बामगठबन्धनबाट उम्मेदवार वन्नुभएका योगेश भट्टराईलाई पार्टीले प्रदेशको मुख्यमन्त्री बनाउने पनि उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, “म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु ।”

यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने स्पष्ट पार्नुभयो ।

यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो ।

अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उहाँको भनाइ छ । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उहाँले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गर्नुभयो ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उम्मेदवार बन्नुभएको छ ।