११ बैशाख २०८१, मंगलवार
Follow Us

राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता : अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७४, आईतवार १३:५०

रत्ननगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताउनुभएको छ । चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको आज उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार हुनु जरुरी रहेको औँल्याउनुभयो । अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने जिकिर गर्नुभयो ।

कात्तिक १६ गते चितवन क्षेत्र नं ३ को प्रतिनिधि सभामा उम्मेदवारी दर्तापछि चुनावी प्रचार अभियानमा सक्रिय रहनुभएका अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिको एकताका लागि वाम गठबन्धन गरेको दोहो¥याउनुभयो । उहाँले यसपटकको पार्टी एकीकरणको प्रयास सफल भएरै छाड्नेसमेत उद्घोष गर्नुभयो ।

आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उहाँले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गर्नुभयो । जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो । चितवनको विकासलाई प्राथमिकता दिँदै नमूना जिल्ला बनाउने योजना आफूसँग रहेको समेत उहाँले बताउनुभयो ।

यसअघि आज बिहान पश्चिम चितवनको चनौलीमा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै उहाँले अबको आवश्यकता स्थिर सरकार निर्माण गरी विकासलाई अगाडि बढाउने रहेको बताउनुभएको थियो ।

उहाँले सो क्रममा चितवनको विकाससँगै देशकै नेतृत्व गर्ने लक्ष्यसहित चितवनमा आएको समेत बताउनुभएको थियो । चितवनमा पछिल्लो समयमा चुनावी कार्यक्रम तीव्र हुन थालेका छन् । दाहालको प्रतिस्पर्धीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट उहाँ चुनावी मैदानमा हुनुहुन्छ ।