१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महारानी एलिजावेथसहित कैयौँ धनाढ्यद्वारा कर छलीमा

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७४, सोमबार ०७:१८

बेलायत । ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले बेलायतकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्यहरुको ठूलो रकम कर छलीका लागि ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ । करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ‘अफसोर’ कम्पनीसँग सम्बन्धित प्याराडाइज पेपर्स नाम दिइएका दस्तावेजहरुमा कर छली सम्वन्धी विवरण सार्वजनिक भएका हुन । चुहाइएका दस्तावेजहरुले महारानी एलिजावेथको एक करोड पाउण्ड निजी रकम ’ब्रिटिश ओभरसिज टेरिटोरिज’ भनिने बेलायत बाहिरका भूभागमा रहेका ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको देखाएको हो ।
तर बेलायती दरबारका अधिकारीहरुले उक्त रकम लगानी गर्ने निर्णयमा महारानीको संलग्नता नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्य मन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग कारोबार गरिरहेको समेत पाइएको छ । दस्तावेजले अमेरिकी वाणिज्यमन्त्री विल्बर रसको क्रेम्लिनसँग निकट रहेको एउटा कम्पनीमा सेयर रहेको देखाएको हो । तर अमेरिकी वाणिज्य मन्त्रालयले रसले कुनै पनि गैरकानूनी काम नगरेको र अमेरिकी प्रतिबन्ध बेहोरिरहेका रुसीहरुसँग कहिल्यै भेटघाट नगरेको जनाएको छ ।
बीबीसी, खोज पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म र जर्मन पत्रिका जुडोएच साइटुङले १ करोड ३० लाखभन्दा बढी दस्तावेजहरु प्राप्त गरेका थिए । झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंश आइतबार सार्वजनिक भएको हो । ‘प्याराडाइज पेपर्स’का दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ । शक्तिशाली कम्पनी र अति धनाढ्य व्यक्तिहरुको एउटा विश्वव्यापी सञ्जालवाट ती दस्तावेज चुहाइएका हुन ।
नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले ‘ट्याक्स हेभन’ भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गर्छन । यस्तो गतिविधिले कैयौं देशको जनता समक्ष आधारभूत सेवा पु-याउन महत्वपूर्ण रहने अर्बौ रकम कर नोक्सानी गराएको अनुसन्धानकर्ताहरुले दावि गरेका छन् ।