१५ बैशाख २०८१, शनिबार
Follow Us

स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७४, मंगलवार ०८:४८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताउनुभएको छ ।
उक्त गठबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पु-याउने घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । उहाँले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ ।”
उहाँले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धु्रवीकृत हुन सक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ भन्नुभयो । उहाँले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली काँग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि’ आफूहरुले त्यस्तो नगर्ने स्पष्ट गर्नुभयो ।