१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनसरीको चुनावी विश्लेषण यस्तो छ

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७४, बुधबार ०६:५३

इटहरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुनसरी जिल्लामा पछिल्लोपटक थप भएका ५७ हजार ८३१ नयाँ मतदाता निर्णायक हुनसक्ने राजनीतिक वृत्तमा विश्लेषण गर्न थालिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा नयाँ थपिएका मतदातासहितको कुल मतदाता संख्या चार लाख ७४ हजार ८३१ पुगेको छ । स्थानीय तह निर्वाचनमा सहभागी नभएका ५७ हजार बढी मतदाताले मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सहभागी हुँदा त्यतिखेर कुल खसेको मत जोडिँदा दलका उम्मेदवारका लागि निर्णायक बन्नसक्ने राजनीतिक बृत्तदेखि चिया पसलमा आँकलन गर्न थालिएको छ ।

स्थानीय तह निर्वाचनपछि थप भएका मतदाताको संख्यात्मक उपस्थिति हेर्दा यस जिल्लाको धरान उपमहानगरपालिकामा ११ हजार ३७ जना नयाँ मतदाताको संख्या थपिएका छन् । इटहरी उपमहानगरपालिकामा ११ हजार ४६६ जना नयाँ मतदाता जोडिन पुगेका छन् । इनरुवा नगरपालिकामा चार हजार ८९ जना थप हुँदा बराह नगरपालिकामा आठ हजार ६७८ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरी रामधुनी नगरपालिकामा पाँच हजार ४७५ जना र दुहवी नगरपालिकामा दुई हजार ८३४ जना मतदाता थप भएका छन् । यस जिल्लाका दुई उपमहानगर र चार नगरपालिकाबाहेक छ गाउँपालिकातर्फ बर्जु गाउँपालिकामा दुई हजार ४१ जना, गढी गाउँपालिकामा एक हजार ५८७ जना, हरिनगरा गाउँपालिकामा एक हजार चार सय ९ जना, देवानगञ्ज गाउँपालिामा एक हजार २४२ जना मतदाता स्थानीय तह निर्वाचनताको भन्दा बढी थप हुँदा भोक्राहामा एक हजार ३२२ जना र कोशी गाउँपालिकामा ६४७ जना नयाँ मतदाता थप भएका छन् ।

यस जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि चार र प्रदेश सभा निर्वाचनका लागि आठ निर्वाचन क्षेत्र कायम भएका छन् । मंसिर २१ गतेको चुनावका लागि गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका उम्मेदवारको उपस्थिति र स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा क्षेत्र नं १ मा वाम गठबन्धन बलियो देखिएको छ ।

क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनको तुलनामा केही मजबुत देखिए पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ । स्थानीय तहको मत जोड्दा क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धन भारी देखिन्छ । क्षेत्र नं ४ मा वाम गठबन्धन भन्दा थोरै मतान्तरले लोकतान्त्रिक गठबन्धन अघि रहेको आकडाले देखाएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नं १ मा नयाँ थप भएका मतदातासमेत गरी कुल मतदाता संख्या एक लाख २२ हजार ६०८ पुगेको छ । चुनावी मैदानमा वाम गठबन्धनबाट एमालेका जयकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका अशोककुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा काँग्रेसले २३ हजार २४ मत प्राप्त गरेको थियो । त्यतिखेर नेकपा एमालेले ३० हजार १३८ ल्याएर विजय सुनिश्चित गरेको थियो ।

स्थानीय तह निर्वाचनमा एक्लै चुनावी मैदानमा भिडेको नेकपा (माओवादी केन्द्र)ले १२ हजार ७४०, नयाँ शक्ति पार्टीले पाँच हजार ५ मत र राप्रपाले ५८७ मत पाएको थियो । स्थानीय तहको नतिजालाई आधार मान्दा सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनको पक्षमा ४२ हजार ८७८ मत देखिन्छ । जुन नेपाली काँग्रेसले पाएको मतभन्दा १९ हजार ८५४ मत बढी हो ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिको मत जोड्दासमेत वाम गठबन्धन १४ हजार बढी मतले अघि देखिन्छ । तर वाम गठबन्धनमा माओवादी र नेकपा एमालेबीच बलियो एकता रहन्छ भन्ने विषयमा आशंका उम्मेदवारी दर्ता गर्नुभन्दा अगावै सार्वजनिक भइसकेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख ३० हजार ३७० मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने देखिएका छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका डम्बर सुवेदी हिमाल र नेपाली काँग्रेसका तर्फबाट सीताराम मेहताबीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा सुनसरी २ बाट नेपाली काँग्रेसले २७ हजार ८५९ मत पाएको थियो भने नेकपा (एमाले)ले २८ हजार ९४० मत पाउँदा माओवादी केन्द्रले चार हजार ६३९, नयाँ शक्तिले ४०४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले पाँच हजार ७२८ र संघीय समाजवादी फोरमले चार हजार ६२२ मत पाएको थियो ।

स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा ३३ हजार ५७९ मत खसेको देखिन्छ । त्यस्तै नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा ३३ हजार ५८७ मतको योग देखिन्छ ।

राप्रपा र नयाँ शक्तिले पाएको मत लोकतान्त्रिक गठबन्धनमा जोडिँदा नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा एक हजार ६८० मतले अगाडि देखिन्छ । जहाँ लोकतान्त्रिक गठबन्धन अघि देखिए पनि वाम गठबन्धनसँग कडा टक्कर हुनसक्ने देखिन्छ ।

सुनसरी क्षेत्र नं ३ मा नयाँ थपसहित एक लाख नौ हजार ८४१ जना मतदाताले यसपटकको मतदानमा भाग लिँदैछन् । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठबन्धनबाट एमालेकी वैकल्पिक केन्द्रीय भगवती चौधरीबीच कडा प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक संविधानसभा निर्वाचनमा झिनो मतान्तरले नेता गच्छदारले चुनाववमा जित प्राप्त गर्नुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं ३ मा नेपाली काँग्रेसले २१ हजार ५७७ मत ल्याएको थियो भने नेकपा एमालेको पक्षमा २० हजार २७ मत, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार ९९३, राप्रपाले एक हजार ८८९, फोरम लोकतान्त्रिकले १७ हजार ६७३ र संघीय समाजवादी फोरमले तीन हजार ४२७ मत पाएको आकडाले देखाएको छ ।

उक्त प्राप्तका आधारमा हेर्दा क्षेत्र नं ३ मा वाम गठबन्धनको पक्षमा २६ हजार २० मत परेको देखिन्छ भने नेपाली काँग्रेसको पक्षमा ३९ हजार २५० मत देखिन्छ । सो मतको आधारमा क्षेत्र नं ३ मा नेपाली काँग्रेसको पक्षमा १३ हजार २३० मत बढी देखिएको छ ।

सुनसरी क्षेत्र नं ४ मा पछिल्लो थप मतदाता समेत गरी कुल एक लाख ११ हजार ४८१ जना मतदाता पुगेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ र नेपाली काँग्रेसका लोकतान्त्रिक गठबन्धनबाट अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्कीबीच मात्र कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसले २१ हजार २३३ मत प्राप्त गरेको थियो । त्यसमा नेकपा एमालेले १८ हजार ३२२ मतमात्र प्राप्त गरेको देखिन्छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा चार हजार २०६, राप्रपाले एक हजार १७० मत , फोरम लोकतान्त्रिकले तीन हजार ६६७ मत र संघीय समाजवादी फोरम नेपालले आठ हजार ९१७ मत प्राप्त गरेको देखिन्छ । जसअनुसार सुनसरी क्षेत्र नं ४ मा वाम गठबन्धनको पक्षमा २२ हजार ५२८ मत खसेको देखिन्छ ।

स्थानीय तहमा खसेको मत हेर्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत आएको देखिएको छ । राप्रपाले पाएको मत नेपाली काँग्रेसले प्राप्त ग-यो भने नेपाली काँग्रेस केही मजबुत हुने देखिन्छ । यद्यपि एमाले प्रवेश गर्नु पूर्व हालका वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ राप्रपाका पूर्व महामन्त्री रहेको र उहाँको पकड मानिएको सो क्षेत्रको मत दुवै गठबन्धनका लागि निर्णायक बन्नसक्ने पनि अनुमान गर्न थालिएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दा यस जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ भने प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो होइन राम्रो व्यक्तित्व भएका नेताको छनोटमा मतदान जाने सम्भावना बढी देखिएकाले अहिले नै कसले बाजी मार्ला भनेर आकलन गरिएको देखिँदैन ।
–याम प्रधान