१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रवासीलाई मतदान अधिकार: यो पटकलाई यस्तै भयो, अर्कोपटक– खाँण

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७४, बुधबार १३:५१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपाली कांग्रेस विदेशमा रहेका नेपालीको पनि मताधिकारको उपयोगको पक्षमा रहेको बताएका छन् । उनले समय अभावका कारण यसपटक सो अवसर दिलाउन नसकिएको बताए । कामका लागि विदेशिएका नेपालीहरुसँग खाँणले भने, ‘अर्को निर्वाचनमा तपाइँहरु जहाँ हुनुहुन्छ,, त्यहीबाट नेपालको भाग्य निर्माणमा सहभागी हुन पाउनु हुनेछ ।’
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले भने, ‘नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा आफ्ना उम्मेदवार उठाएको छ । यसमध्ये कम्तिमा ५५ प्रतिशत सिट नेपाली कांग्रेसले जित्छ ।
नेता खाँणले ६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएका नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेद्वार उठाएको माओवादीको दुई तिहाइ सीट जित्ने दावी हावादारी भएको उनले बताए । स्थानीय निर्वाचनको नतिजाले नै नेपालको बास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै खाँणले भने, ‘२०३६ सालको जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २० लाख मत पाएको थियो तर २०४६ सालमा आईपुग्दा जनमत बदलियो कि बदलिएन ?”
नेता खाणले अधिकतम् सीटमा उम्मेदवारी दिएकोले नेपाली कांग्रेसलाई समानुपातिक तर्फको सीट संख्याको लाभ हुने पनि दावी गरे । उनले भने, ‘हाम्रै मतको लाभ त हामीलाई हुन्छ नै त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरुमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउँछ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले निर्वाचनको परिणाम एमाले र माओवादीका लागि अप्रत्यासित हुन पनि सक्ने उल्लेख गर्नुभयो ।