१३ बैशाख २०८१, बिहीबार
Follow Us

धुलोको कारण चक्काजाम ः आखिर यस्तो कहिलेसम्म

sarusaru
२३ कार्तिक २०७४, बिहीबार ०३:५०

कार्तिक २३, २०७४-सवारीले धूलो उडाएर गाउँमा बस्न कठिन भएको भन्दै बुधबार मलंगवा नवलपुर सडक खण्डको जुटपानीमा स्थानीयले केही घण्टा चक्का जाम गरेका छन् । सडक पिच गर्न ६ वर्षअघि ठेक्का लागे पनि कुनै काम नभएपछि स्थानीयले धूलो नियन्त्रण नगरी सवारी चलाउन नदिने भन्दै जाम गरेका हुन् ।

चाडबाड सकेलगत्तै बनाउने आश्वासन पाएर बसेका स्थानीय कामै सुरु नगरेपछि धूलो सहन नसकेर बाटो बन्द गर्ने अवस्थामा पुगेका हुन् । सडकमा गुड्ने सवारीले उडाएको धूलो आसपासका ५ सय मिटर परका गाउँसम्म पुग्ने गर्छ । ‘सडक बन्छ भन्ने त आसै मरिसक्यो,’ धूलो पीडित रमेश काफ्लेले भने, ‘धूलोले गर्दा बसाइँ सर्नुपर्ने अवस्था आइसक्दा पनि कसैले वास्ता गरेका छैनन् । जनतामाथि ठूलो अन्याय भएको छ ।’

ठेकेदारले काम नगर्दा पनि सडक विभाग, स्थानीय प्रशासन कसैले वास्ता नगरेपछि बाध्य भएर चक्का जाम गर्नुपरेको स्थानीयले बताए । ठेकेदारले सडक बनाउने पैसाले जग्गा किनेर प्लटिङ गर्ने, सहरमा घर किन्ने र नाफामूलक अन्य व्यवसाय गरेर जनतालाई दु:ख दिएको लालबन्दी नगरपालिकाका कार्यकारी सदस्य इश्कीलाल पासवानले बताए । ‘जनताको भागमा धूलो मात्र परेको छ,’ उनले भने, ‘कडा आन्दोलन नगरी जनताको समस्या समाधान हुँदैन ।’ काम गराउन दबाब दिनुपर्ने निकायलाई ठेकेदारले पैसा पेलेर मौन गराएको स्थानीयले आरोप लगाए ।

महिला, बालबालिकासमेत बन्दको समर्थनमा सडकमा उत्रेका थिए । घरमा पकाएको खाना खाने बेला सुरक्षित ठाउँ नभएको अधिकांशले दुखेसो पोखे ।

‘भान्सा, सुत्ने कोठा सबै ठाउँ धूलोले ढाकेको हुन्छ,’ बन्द गर्न बसेका धूलो पीडित रामबालक दासले भने, ‘भात खाँदा सँगसँगै धूलो पनि खानुपर्ने अवस्था छ । सुत्दा त मास्क लगाउँछौं, खाना खाँदा मास्क

लगाउन मिल्दैन ।’

खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ भन्ने स्वास्थ्य मन्त्रालयको विज्ञापन यहाँ अर्थहीन बनेको छ । सडकको धूलो भातसँगै खानुपर्ने अवस्थामा हात धुनुको कुनै अर्थ नहुने दासले बताए ।

बन्द खुलाउन हरिपुरबाट हिंडेको प्रहरी निकै ढिलो बन्द भएको स्थानमा पुगेको थियो । हरिपुर इलाका प्रहरी कार्यालय पनि धूलो उड्ने सडक छेउमै छ । धूलो नियन्त्रणका लागि स्थानीयले गरेको आन्दोलन प्रहरीका लागि समेत अनुकूल बनेको थियो ।

प्रहरीको लामो प्रयासपछि धूलो नियन्त्रणका लागि पानी छिट्ने सहमतिमा बाटो खुलेको थियो । धुलाम्मे बाटो किनारमा दस विद्यालय, एक स्वास्थ केन्द्र र एक वृद्धाश्रम छन् । कलिला बालबालिका धूलोले ढाकिएर स्कुल जाने गर्छन् । मलंगवा नवलपुर २५ किमि सडक १० वर्षअघि नै कालोपत्रे भत्केर अत्यन्त जीर्ण बनेको छ ।

– कान्तिपुरबाट ।