१३ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यालयका शिक्षक शिक्षिका चुनावी प्रचारमा हिँडेपछि अभिभावकको गुनासो

sarusaru
२३ कार्तिक २०७४, बिहीबार ०४:२५

कार्तिक २३, २०७४-सामुदायिक विद्यालयका शिक्षक/शिक्षिका विद्यालय छाडेर प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको पछि हिँड्न थालेका छन् । आफ्नो पार्टीका उम्मेदवार जिताउन भन्दै मनोनयन दर्ता भएयता शिक्षक–शिक्षिका विद्यालय छाडेर चुनाव प्रचारप्रसारमा लागेका हुन् ।

स्थानीय तहमा पार्टीको झन्डा बोकेर प्रचारप्रसारमा उत्रिएका जिल्लाका शिक्षक–शिक्षिका यसपटक पनि उम्मेदवारका पछिपछि लागेका छन् । शिक्षक संघ/संगठन/युनियन/ महासंघमा अबद्ध शिक्षक–शिक्षिका विभिन्न पार्टीका कार्यकर्ता बनेका छन् । चुनावी प्रचारमा शिक्षक–शिक्षिका गएपछि पठनपाठन अवरुद्ध भएको अभिभावक कृष्णबहादुर राउत बताउँछन् ।

‘विभिन्न शिक्षकका फेसबुक वालका स्टाटसले पनि उनीहरू चुनावमा होमिएको देखिन्छ, उनले भने, ‘शिक्षक–शिक्षिका फेसबुकबाटै आफ्ना पार्टीका उम्मेदवारका लागि भोट मागिरहेका छन् ।’

पार्टीको प्रचारप्रसार समितिमा समेत शिक्षक–शिक्षिका छन् । सरकारको तलब, सुविधा लिएर शिक्षक–शिक्षिकाले पार्टीको प्रचार गर्दा पनि सम्बन्धित निकायले वास्ता नगरेको अर्का अभिभावक कुमोद बगालेको गुनासो छ । भन्छन्, ‘पार्टीमा अस्था राख्नु स्वाभाविक हो तर झन्डा नै बोकेर प्रचारमा हिँड्न शिक्षक–शिक्षिकाले सुहाउँदैन । उनीहरूलाई लाज लाग्नुपर्ने हो ।’ तर, जिल्लामा शिक्षक–शिक्षिका पार्टीको झन्डा बोकेर भोट मागेको उनले बताए ।

झन्डा बोकेर भोट माग्दै हिँड्ने शिक्षकलाई कारबाही हुनुपर्छ,’ नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष दिलबहादुर फुयालले भने, ‘झन्डा बोकेर भोट माग्दै हिँड्नु उनीहरूको नैतिकताले पनि नदिनुपर्ने हो ।’

नाम चलेका विद्यालय र आफूलाई शिक्षकहरूको नेता भन्ने ठूला शिक्षक–शिक्षिका विभिन्न राजनीतिक दलमा आबद्ध छन् ।

निर्वाचन आचारसंहिता २०७२ को दफा ३, (१) को ड १ ले नेपाल सरकारको अनुदानबाट सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकले आचरसंहिता उल्लंघन गरे काहबाही हुने उल्लेख छ । ‘आचरसंहिता उल्लंघन गरे शिक्षक–शिक्षिकामाथि ऐनअनुसार कारबाही हुन्छ,’ मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले भने ।
– कान्तिपुरबाट ।