६ बैशाख २०८१, बिहीबार
Follow Us

१० दम्पत्ति चुनावी मैदानमा

sarusaru
२३ कार्तिक २०७४, बिहीबार ०४:३१

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दल तालमेल गरेर चुनावी मैदानमा उत्रिएपछि कहलिएका कपितय चर्चित नेताहरू निर्वाचन क्षेत्रमा अटाएनन् । तर, तिनै दलका कतिपय नेताका भने श्रीमान् श्रीमती नै उम्मेदवार बनेर मतदातामाझ पुगेका छन् । श्रीमान् श्रीमती नै उम्मेदवार हुने दलको सूचीमा नेकपा माओवादी केन्द्र पहिलो स्थानमा छ भने प्रधानमन्त्री शेरबहादुर देउवा दम्पती नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा कैलाली–५ बाट उम्मेदवार बनेकी छन् । यसअघि उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । पूर्वरक्षामन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन् । खस आर्यतर्फ खाँणको नाम एक नम्बरमा छ । मञ्जु पनि खस आर्य महिलातर्फको पाँचौं नम्बरमा छिन् ।
नेकपा एमालेबाट तीन दम्पती चुनावी मैदानमा छन् । पार्टी उपाध्यक्ष वामदेव गौतम बर्दिया– १ का उम्मेदवार हुन् । उनकी पत्नी तुलसी थापा एमालेको समानुपातिक सूचीमा छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरधाममा आयोजना गरिएको चुनावी सभामा सहभागी हुँदै । तस्बिर : रासस
एमाले स्थायी समिति सदस्य शंकर पोखरेल दाङ–२ (क) बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुन् । चुनावी तालमेलका क्रममा एमालेले माओवादीलाई दाङ–२ छाड्नैपर्ने भएपछि पोखरेल मुख्यमन्त्रीको लक्ष्यसहित प्रदेशसभामा प्रतिस्पर्धामा छन् । उनकी श्रीमती सुजिता शाक्य एमालेको प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी छन् । एमाले नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोकबाट प्रदेशसभाका उम्मेदवार छन् । उनकी श्रीमती उषाकला राई पनि समानुपातिकको सूचीमा छिन् ।नेकपा माओवादी केन्द्रबाट चार दम्पती यो पटकको निर्वाचनमा उम्मेदवार बनेका छन् । पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । पूर्वसभामुखसमेत रहेकी उनकी श्रीमती ओनसरी घर्ती मगर भने समानुपातिक सूचीमा छिन् ।
पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनकी श्रीमती सत्या पहाडी यसपटक पनि समानुपातिक सूचीमा अटेकी छिन् ।

माओवादी केन्द्रका नेता देव गुरुङ दम्पती पनि यो पटकको निर्वाचनमा उम्मेदवार बनेका छन् । गुरुङ लमजुङबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका उम्मेदवार हुन् । उनकी पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छिन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अर्का नेता हितमान शाक्य काठमाडौं–१० बाट उम्मेदवार बनेका छन् । उनकी श्रीमती अमृता थापा मगर समानुपातिकतर्फकी उम्मेदवार छिन् ।
रोल्पा ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सूचीमा अटेकी छन् । ठूला दल मात्रै नभएर साना दलभित्र समेत श्रीमान् श्रीमती उम्मेदवार बन्न सफल भएका छन् । नेकपा मालेका महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन् ।

मैनालीले आफ्नी श्रीमती नीलम खड्कालाई पनि समानुपातिकको सूचीमा अटाएका छन् । दोस्रो संविधानसभामा दुवै जना समानुपातिकतर्फबाट सांसद चुनिएका थिए भने दुवै जना मन्त्रीसमेत बनेका थिए । श्रीमान् श्रीमती नै उम्मदेवार बनेकोप्रति नातावाद हाबी भएको भन्दै पार्टी पंक्तिमा भने असन्तुष्टि समेत पैदा छ । नेताहरू श्रीमतीभन्दा पनि उनीहरूको राजनीतिक योगदान र सक्रियताका कारण उम्मेदवार बनेको दाबी गर्छन् ।