८ बैशाख २०८१, शनिबार
Follow Us

बाग्लुङबाट ७ घण्टामा सुनौलि

sarusaru
२३ कार्तिक २०७४, बिहीबार ०५:३५

२२,कात्तिक , बाग्लुङ – कालीगण्डकी कोरिडोरमा बुधबारदेखि बागलुङ कुश्मीशेराहुँदै सुनौलीसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ । हाल पोखरा, नारायणगढहुँदै जाने बाटोभन्दा छोटो र भाडा दरमा पनि कम हुने गरी बस चल्न थालेको हो । धौलागिरी यातायात बस व्यवसायी समितिले बुधवार बस छुटाएर यो अभिायनको शुभारम्भ गरेको हो । कुश्मीशेरादेखी सुनौलीको लागि छुटेको बस बागलुङ नगरपालिका १२ सरंगीसम्म पुर्वपट्टि आएपछि पश्चिम मोडिएर कच्ची सडकमा कुद्न थालेको धौलागीरी बस ब्यबसायी समितिले जनाएको छ । बुधबार कुश्मीशेराबाट बिहान ७ बजे छुटेको बस दिउँसो तिन बजे सुनौली पुगेको थियो ।
पश्चिम नेपाल यातायात व्यवसायीले पाल्पा, रिडीहुँदै खुलेको कोरिडोरको ट्रयाकमा केही दिनदेखि सिधा बस चलाएका थिए । तर धौलागीरी बस ब्यवसायी समितीले भने पहिलोपटक बस सेवा सञ्चालनमा ल्याएको हो । यातायात सञ्चालनमा आएपछि जैदी, छिस्ती, अर्जेवा लगायतका बासिन्दाले बुटवलदेखि आउने भाडामा समेत ५० प्रतिशत कमी भएको बताए । कुश्मीशेराबाट सिधा यातायात सञ्चालनमा आएपछि सदरमुकाम आएर उल्टो बाटो बुटवल तथा सुनौलि जाने दक्षिणका सर्वसधारणको बाध्यता समाप्त भएको धौलागिरी बस व्यवसायी समितीका अध्यक्ष उमेश केसीले बताए । कुश्मीशेराबाट दैनिक बिहान ७ बजे कोरिडोरको बाटोहुँदै बस सुनौली जाने व्यवस्था मिलाईएको केसीले बताए । कुश्मीशेराबाट सुनौली जाने बसको भडा ४ सय २५ रुपैयाँ मात्र तोकिएको छ ।
‘कुश्मीशेराहुँदै चल्ने बसले गुल्मी स्याङ्जा, पाल्पा र बुटवलका नागरिकलाई सिधा सुनौली सहज हुन्छ’ केसीले भने ‘बागलुङका साविकका ३० भन्दा बढि गाविसका सर्वसाधारण पनि यो सेवा बाट लाभान्वित हुने छन् ।’ कालीगण्डकी कोरिडोरको बागलुङखण्ड निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् । नेपाली सेनाले निर्माण गरेको मालढुगा टाकुरीहुँदै गुल्मी सिमानाको ३६ र गुल्मी र पाल्पातर्फको गरी ८० किमी खण्डमा खुलेपछि बुटवलदेखि सिधा बस र जिप चल्न थालेको निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । अहिले बागलुङबाट धौलागिरी यातायात बस तथा जिप व्यवसायी समितिले र बुटवलबाट पश्चिम नेपाल यातायात व्यवसायीले पनि सवारी छुटाई रहेका छन् । बागलुङदेखि कोरिडोरको बाटो भएर बुटबल जाने सडक अब आधा छोटो हुनेछ । २०७२ असार १५ गते शिलान्यास गरेको सडक दुइ बर्षमै खुलेर सवारी गुड्ने भएको हो । ८ मिटर चौडाको यो सडकलाई आगामी बर्ष १० मीटर चौडा पारेर स्तरोन्नती समेत गरिने योजना छ । धेरै स्थानमा बम पड्काएर पहरा फोड्दै सडक बनाउनुपर्ने भएकोले सडक डिभिजनमार्फत संभव नभएपछि सेनालाई जिम्मा दिएको थियो ।
‘राष्ट्रिय गौरवको आयोजना भएकोले देशभरको चासो र चिन्तालाई समयमै पुर गरेर हस्तान्तरण गरेका हौं’ भट्टराईले भने, ‘यो सडकले भारत र चीन जोड्ने छोटो मार्गको पनि काम गर्नेछ ।’ सुनौलीदेखि कोरला नाकासम्म ४ सय १७ किमी खण्डमा यो सडकले दुई देश जोड्छ । ८० किमी खण्डको ट्रयाक खोल्न ९५ करोड खर्च भएको थियो । यो खण्डमा ४ वटा फलामे पुल (बेली ब्रीज) २ वटा काठे पुल समेत सेनाले बनाएको छ । यो सडक बनेपछि धौलागिरीबासीहरु बुटवल र स्याङजाको मिर्मि घुम्ने जाने बढेका छन् । बुटवल तथा पाल्पाका अधिकांसले मुक्तिनाथ र बागलुङ कालिका आउने सडकको रुपमा प्रयोग गर्न थालिसकेका छन् । कोरिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाईसराई कम हुने, एकलाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाई व्यवसाय गर्न सकिने, बार्षिक ४ लाख ४८ हजार मेट्रिकटन खाद्यान्न उत्पाद गर्न सकिने अनुमान कोरिडोर सरोकार समितिको अध्ययनमा उल्लेख छ । बागलुङको बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाई नारायणगढ, गैडाकोटसम्म सहज बिक्रीका लागि पठाउन सक्छन् ।