१५ बैशाख २०८१, शनिबार
Follow Us

निधिका लागि कांग्रेसका दुई उम्मेदवारको ‘बली’

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७४, बिहीबार ०९:०७

काठमाडौं । विमलेन्द्र निधिलाई तराईबाट जिताउन नेपाली कांग्रेसले दुईवटा निर्वाचन क्षेत्रको उम्मेदवारको ‘बली’ चढाएको छ । निधिले आफ्नो जीत सुनिश्चित गर्न महोत्तरी–३ बाट बजरंग नेपाली र सप्तरी–२ बाट सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो ।
धनुषा–३ बाट उम्मेदवार बनेका निधिलाई राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले चुनौति दिएका छन् । राजपा र संघीय समाजवादी फोरम गठबन्धन गरी चुनावी मैदानमा छ । यो गठबन्धनलाई फुटाउन निधिले कांग्रेसका दुईवटा उम्मेदवार थुत्न पार्टी सभापति शेरबहदुर देउवासँग आग्रह गरे । निधिकै आग्रहअनुसार सभापति देउवाले ती दुई उम्मेदवारलाई फिर्ता बोलाएका छन् । यद्यपि उम्मेदवारी फिर्ता लिने समयसीमा सकिएकाले सप्तरी–२ मा कांग्रेस उम्मेदवार कायमै छ । तर उम्मेदवार सुतिहारले पार्टी निर्देशन अनुसार आफ्नो उम्मेदवार कायम नरहेको बताएका छन् ।
महोत्तरी–३ मा भने बजरंग नेपालीले समयसीमामै आफ्नो नाम फिर्ता लिएर राजप अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने निर्णय भएको छ । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राजप अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई समर्थन गरेर धनुषा–३ बाट राजेन्द्र महतोलाई एक्ल्याउन रणनीतिअनुरुप निधिले उक्त दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार हटाउन कांग्रेस सभापति देउवालाई आग्रह गरेको बताइएको छ ।
यी दुवै क्षेत्रमा कांग्रेसले जित्ने सम्भावनालाई नर्कान सकिन्न । सप्तरी–३ मा यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् भने महोत्तरीमा ठाकुरविरुद्ध संघीय समाजवादीका चन्द्रेश्वर झाले चुनौति दिएका छन् । उक्त क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अधिकांश गाउँ र नगरपालिकामा थोरै मतअन्तरले कांग्रेस दोस्रो भएको थियो । उक्त क्षेत्र भूमिहारको बाहुल्यता छ, कांग्रेसले भूमिहार समुदायबाटै उम्मेदवार बनाएको थियो ।