१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसका यी तीन टुरेस्ट उम्मेदवार, जीत सुनिश्चित

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७४, बिहीबार १०:४६

काठमाडौं । यसअघिको निर्वाचनमा समानुपातिक सांसद बनेका डा. आरजु देउवा, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई यतिबेला पर्यटक (टुरेस्ट) उम्मेदवारको संज्ञा दिइएको छ । राणा खानदानमा हुर्किक डा. आरजु, कैलाली–५ मा, भोजपुरका कार्की सुनसरी–४ मा र नुवाकोटका डा. महत काठमाडौं–५ बाट उम्मेदवार बनेका छन् । सत्ता र शक्तिको ‘सदुपयोग’ गरेर चुनाव जित्न सक्ने आंकलनसहित उक्त निर्वाचन क्षेत्र रोजेर उनीहरु उम्मेदवार बनेका हुन् ।
उम्मेदवार बनेको निर्वाचन क्षेत्रसँग उनीहरुको गोरु बेचेको साइनोसमेत छैन । यी तीनैजना अहिले सत्ताको आडमा चुनाव लडिरहेका छन् । आरजु पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी मात्र होइन, शासनको बागडोर नै उनीसँग छ भन्दा फरक पर्दैन । भोजपुरबाट पटक पटक चुनाव हारेका कार्की अहिले अर्थमन्त्री भएपछि सुनसरी–४ बाट उम्मेदवार बनेका छन् । पार्टी सभापति देउवाको दाइने हात मानिने तर कहिले चुनाव नलडेका डा. महत नुवाकोटवासी हुन् । कांग्रेस नेता नरहरि आचार्य अस्वस्थ्य भएपछि काठमाडौं–५ मा उनी उम्मेदवार भएका छन् ।
प्रधानमन्त्री पत्नी आरजुले आफूलाई टुरेस्ट उम्मेदवारको आरोप लागेपछि उनले कैलालीमा ३ करोडको घर नै किनेकी छन् । त्यही बसेर आरजुले चुनावी गतिविधि गरिरहेकी छन् । अर्थमन्त्री कार्की भने आफ्न्तको साइनो लगाएर सुनसरीमा चुनाव लडिरहेका छन् । कहिले चुनाव फेस नगरेका डा. महतको भने पहिलेदेखि उक्त निर्वाचनमा घर थियो ।
सत्ता र शक्तिको साम, दाम, दण्ड र भेद प्रयोग गरेर यी तीनवटै टुरिस्ट उम्मेदवारले चुनाव जित्ने विश्लेषण गरिएको छ । कैलाली–५ बाट डा. आरजुको जीत लगभग निश्चित जस्तै भए पनि सुनसरीका कार्की र काठमाडौं–५ का डा. महतलाई चुनाव जित्न त्यत्ति सजिलो नहुने विश्लेषण छ ।
सुनयना राउत