२६ बैशाख २०८१, बुधबार
Follow Us

आर्थिक लेनदेन निर्वाचनका गम्भिर चुनौती : प्रमुख निर्वाचन आयुक्त

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७४, बिहीबार १०:५७

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले मतदाताका बीचमा देखा परेको अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको बताएका छन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचार संहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउन निर्वाचन आयोगले बिहीबार काठमाडौमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रमुख आयुक्त यादवले आर्थिक र मानसिक विपन्नताले लेनदेनको संस्कृति देखापरेको भन्दै यसलाई रोक्नु चुनौती भएको टिप्पणी गरे ।
उनले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मानसिकतालाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गरे । प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको समेत धारणा राखे । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको उनको भनाई छ । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोत साधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।