११ बैशाख २०८१, मंगलवार
Follow Us

सेयर बजारमा गिरावट आउँदा लगानीकर्ता निराश

sarusaru
२४ कार्तिक २०७४, शुक्रबार ०८:४९

२४ कात्तिक, काठमाडौं । वितेको १६ महिनामा लगानीकर्ताहरुको सेयर सम्पत्तीमा लगभग ३ खर्ब ७५ अर्बले ह्रास आएको छ । १३ दिनदेखि लगातार घट्दो क्रममा बजार रहेको छ । बिहीवार बजारमा सूचीकृत कम्पनीहरुको सेयरको कुल मूल्यांकन १६ खर्ब ९५ अर्ब बराबर रहेको छ । यसलाई कुल बजार पूँजीकरण भनिन्छ । गत वर्ष साउन १२ गते कुल बजार पूँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो ।

‘यो रकमलाई कतिपय लगानीकर्ताले गुमाएको रकमको रुपमा प्रस्तुत गर्ने गरेका छन्, यसले लगानीकर्तालाई थप चिन्तित बनाउने गरेको छ, सम्पत्तीको मूल्यांकन मात्र घटेको हो, बजार बढ्दा त्यसमा पुनः सुधार हुन्छ,’ एक विश्लेषकले भने । सेयर मूल्यमा आउने उतार चढावले मूल्यांकनमा प्रभाव पारेपनि वास्तविक नाफा घाटा भने सेयर बिक्रीको क्रममा कायम मूल्यको आधारमा मात्र हुने उनी बताउछन् ।

गत वर्षको साउन यता एभरेष्ट बैंकको सेयर मूल्य २ हजारले, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । यसआधारमा हेर्दा त्यतिखेर सेयर किन्ने लगानीकर्तालाई यस विहीवार सेयर मूल्य परिवर्तनको (संस्थाहरुले दिएको बोनस र हकप्रदको हिसाब नगर्दा) सोही दरमा नोक्सान भएको छ । तर, बोनस, वा हकप्रद दिएको अवस्था रहेमा वा बजार पुनः बढेपछि यी लगानीकर्ताले सेयर बिक्री गरेमा भने नाफा हुनसक्छ ।

त्यसैले कागजी मूल्यांकनकै आधारमा मात्र नाफा/घाटा भएको मान्न नमिल्ने ती विश्लेषक बताउछन् । यद्यपी यो अवधिमा सेयर किनबेच गर्दा नाफा र घाटा दुवै भएको भने हुन सक्दछ , उनले भने ।

‘कुन समयमा लगानीकर्ताले सेयर किनेको छ र कुन समयमा बेचेको छ त्यसले नै वास्तविक नाफा घाटा थहा हुने हो, यो व्यक्तिको लगानी रणनीति अनुसार फरक फरक हुन्छ,’ उनले भने । कतिपय लगानीकर्ताले घट्दो बजारमा पनि कमाएका हुनछन् भने कतिपयले बढ्दो बजारमा पनि गुमाएका हुनसक्छन्, उनले स्पष्ट पारे ।

हुनतः पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको, कर्जाको व्याज दर सोचेअनुरुप घट्न नसकेकोको कारण बजारमा सुधार हुन सकेको छैन् । बैंक तथा वित्तीय संस्थाहरुको चुक्तापूँजी तोेकेअनुरुप पुगेकोले आगामी दिनमा संस्थाहरुले के कति लाभांश दिन्छन भन्ने चिन्ता पनि लगानीकर्ताहरुमा रहेको देखिन्छ ।

तर, निर्वाचनको कारण अर्थतन्त्र चलायमान हुने र यसको प्रभाव अर्थतन्त्र र बैंकिङ प्रणालीमा रहेको तरलतामा पनि पर्ने, निर्वाचन पछि स्थिर सरकार आउने लगायतको अपेक्षा पनि कतिपय लगानीकर्ताहरुमा रहेको छ ।

विहीवार भने सेयर बजार कारोबार मध्यमा यो दिनको न्युन विन्दुबाट लगभग २५ अंकले बढेपनि पछि वृद्धि कायम राख्न सकेन । अघिल्लो दिनको तुलनामा बजार ५.८९ अंकले घटेको छ । यसदिन ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

– अनलाइन खबरबाट ।