१५ चैत्र २०८०, बिहीबार
Follow Us

१० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७४, शुक्रबार ११:३४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश आज प्रमाणीकरण गरेकी छिन् । डाक्टर गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश भण्डारीले प्रमाणिकरण गरेकी हुन । मन्त्रीपरिषदले कार्तिक छ गते नै अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर राष्ट्रपति भण्डारीले परामर्शका लागि भन्दै अध्यादेश प्रमाणिकरण गरेकी थिइनन् । डाक्टर केसी सहितको टोलीले बिहीबार अध्यादेश प्रमाणिकरण नभएको विषयमा ध्यानाकर्षण गराएका थिए । त्यस लगत्तै शुक्रवार अध्यादेश प्रमाणिकरण भएको हो ।
अध्यादेशमा १० वर्षसम्म काठमाण्डौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने र तीन वर्ष अस्पताल सञ्चालन गरिसकेको संस्थाले मात्र नयाँ मेडिकल कलेज खोल्न सक्ने जस्ता प्रावधान राखिएको छ । चिकित्सा शिक्षा विधेयकको माग गर्दै लामो समयदेखि संघर्षरत डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेशमार्फत माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि डा. केसीले आमरण अनशन तोडेका थिए । प्रमुख राजनीतिक दलबीचको मतभेदका कारण संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित हुन नसकेपछि सरकारले अध्यादेश ल्याएको थियो ।