१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ मुग्लिन सडक आज ७ घन्टा बन्द

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७४, शनिबार ०७:१६

नारायणगढ । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आज सात घन्टा बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्र्तगत सेतिदोभानमा रहेको जोखिमयुक्त ढुंगा हटाउनका लागि आज विहान दश बजेदेखि बेलुकी पाँचबजेसम्म सडक बन्द गर्न लागिएको हो । उक्त समयमा बैकल्पिक सडक प्रयोग गर्न सडक निर्माण आयोजनाले यात्रुहरुलाई आग्रह गरेको छ । भोलीदेखि भने सडक निर्माण आयोजनाले दिनको चार पटक गरी साढे चार घण्टा सवारी रोकेर सडक विस्तारको काम अघि बढाउने जानकारी दिएको छ ।
आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि साढे बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम गर्ने तयारी छ । उक्त सडकखण्डको १६, २२ र ३३ किलो क्षेत्रमा झण्डै ७ सय मिटरमा भित्तो काटने काम बाँकी छ । सडक विस्तार गरिसकेको ठाँउमा भने आयोजनाले कालोपत्रे समेत गरिसकेको छ । दुई बर्षअघिदेखि उक्त सडकखण्ड फराकिलो पार्न शुरु गरेपनि अझै त्यसले पुर्णता पाएको छैन । अहिलेसम्म सडक विस्तारको काम ५८ प्रतिशत मात्रै पुरा भएको छ । नारायणगढ मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाईदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाईदैछ ।