८ बैशाख २०८१, शनिबार
Follow Us

हेल्प नेपालले ग-यो खण्डन, चुनावकालागि चन्दा नउठाएको खुलासा

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७४, शनिबार १३:५४

हेल्प नेपाल नेटवर्क युके शाखाले नेपालमा भैरहेकेा संघीय तथा प्रदेश सभाको चुनावमा कुनै उम्मेदवारलाई सघाउन चन्दा नउठाएको स्पष्ट गरेको छ।
एउटा प्रेस विज्ञप्तीमा शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले हेल्प नेपाल नेटवर्क युके ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गरिएको एक कल्याणकारी संस्था भएको र च्यारिटी कमिशनको नियम भित्र रही सामाजिक र कल्याणकारी कामकालागि मात्र शुभेच्छुकहरुबाट महिनामा एक पाउण्ड लगायतका सहयोग संकलन गरिरहेको जनाए।
“कुनै पनि राजनीतिक उद्देश्यकालागि चन्दा उठाउने कुरा ब्रिटेनको नियमकानुन र यस संस्थाको घोषित उद्देश्य विपरित कुरा हो। त्यसैले त्यस्तो कुनै पनि गतिविधिमा हेल्प नेपाल नेटवर्क युके र हाम्रा सदस्यहरु संलग्न नरहेको स्पष्ट पार्न चाहन्छौं,” उनले भने।
“हेल्प नेपाल नेटवर्क युके शाखाले दुई वर्ष अघि गएको भूकम्प पछि रोयल अल्बर्ट हलमा गरेकेा सांगीतिक कार्यक्रम र ‘लिभरपुल युनाइट्स फर नेपाल’ लगायतका संस्थाहरुको संस्थागत तथा अरु सैयौं सहयोगीहरुको सहयोगबाट हामीले सिन्धुपाल्चोक र गोर्खा जिल्लामा भूकम्पद्वारा क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाइ रहेका छौं। त्यसबाहेक हालै नेपालमा आएको बाढी पीडितहरुलाई प्रभावित इलाकामै गएर हेल्प नेपाल नेटवर्कका स्वयम्सेवकहरुले राहत सामग्री वितरण गरेका छन्। हाम्रा गतिविधिहरुबारे www.helpnepal.net मा गएर थप जानकारी लिन सक्नुहुनेछ,” अध्यक्ष डा. ज्ञवालीले शनिबार जारी वक्तव्यमा भने।
संस्थाले हेल्प नेपाल नेटवर्क युकेका गतिविधिहरुबारे कुनै जिज्ञाशा भए शाखाका कोषाध्यक्ष सचिन श्रेष्ठलाई 07888812312 मा संपर्क गर्न समेत अनुराध गरेको छ।
सामाजिक सन्जालहरुमा काठमाडौं एकबाट चुनाव लडिरहेका विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्रलाई सघाउन हेल्प नेपालले बेलायतमा चन्दा उठाइरहेको भन्ने टिकाटिप्पणीहरु गरिएपछि हेल्प नेपाल नेटवर्क युके शाखाले वक्तव्य जारी गरेरै तिनको खण्डन गरेको हो।
हेल्प नेपाल नेटवर्कका संस्थापक रहेका मिश्रले गत मार्च महिनामा बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिंदा अब आफु हेल्प नेपाल नेटवर्कसंग पनि संबद्ध नरहेको जनाएका थिए।