१२ बैशाख २०८१, बुधबार
Follow Us

मत गणना एकैपटक, प्रत्यक्षपछि मात्र समानुपातिको गणना हुने

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार ०६:१४

काठमाडौ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार र मतदातामा निकै उत्साह थपिएको छ । पहिलो चरणको निर्वाचनका लागि अब दुई सातामात्र बाँकी छ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुने भए पनि त्यसको मतपरिणाम थाहा पाउन भने उम्मेदवार र मतदाताले दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म पर्खनु पर्नेछ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भएर सबै मतपेटिका सङ्कलन भएपछि मात्र मतगणना गर्ने तयारी गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । दोस्रो चरणमा हुने मतदानलाई प्रभावित गर्न सक्ने भएकाले दुवै चरणको मतगणना एकैपटक गर्ने निर्णय आयोगले गरेको हो । पहिलो चरणको मतदानपछि मतपेटिकालाई जिल्ला निर्वाचनको कार्यालयमा ल्याएर सुरक्षित गरिने तयारी आयोगले गरेको छ । मतपेटिकाको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा जिम्मा दिइने सहायक प्रवक्ता शर्माले बताए। प्रत्यक्षतर्फको मतगणना गरेपछि मात्र समानुपातिकतर्फको मतगणना गर्ने योजना आयोगको छ । यसपटकको निर्वाचनमा जुन क्षेत्रमा जति उम्मेदवार छन्, त्यहीअनुसारको मात्र चिह्न प्रदान गरेर मतपत्र बनाइएकाले स्थानीय निर्वाचनको भन्दा छिटो मतगणना हुने अपेक्षा आयोगको छ । प्रत्यक्ष र समानुपातिकको छुट्टाछुट्टै मतपत्र रहेकाले पनि गणना छिट्टै हुने भनाइ आयोगको छ । आयोगले प्रत्यक्षतर्फको मत परिणाम मङ्सिरको अन्तिम सातासम्म र पुसको पहिलो सातासम्म सबै मतगणना आइसक्ने विश्वास आयोगको रहेको शर्माले बताए ।