कुमार पन्त, उपाध्यक्ष, गैरआवासीय नेपाली महासंघ ।
आज आम एनआरएनले स्वदेशमा पुग्दा सुन्ने प्रय समान प्रश्न हो, एनआरएनले के ग-यो नेपालका लागि ? एनआरएनप्रति अपेक्षाको सूची लामो छ । गर्नुपर्ने काम र क्षेत्र जत्तिकै हामीले गर्न चाहेका काम पनि उत्तिकै असीमित छन् । तर सबै काम हामी चाहेर पनि गर्न सक्दैनौँ । गर्न खोजेर पनि हामी सफल हुँदैनौँ । तर, नेपाल र नेपालीका लागि काम गर्नुपर्ने प्रमुख पक्षहरुमध्येका एक हामी एनआरएन हौँ र हुनुपर्छ । नेपालको विकास र नेपालीको उन्नतिको सहायक एवम् साझेदार हामी एनआरएनहरु बन्नैपर्छ । हामीले मातृभूमिका लागि योगदान गर्ने भनेको आर्थिक लगानी र परोपकारी कार्यहरुबाट हो, जुन सुरुदेखि नै जारी छ । यति हो, हामीले त्यो मात्रा बढाउनुपर्नेछ ।

सामाजिक कल्याणका लागि एनआरएनएले परोपकारी तथा समाजिक कल्याणकारी कार्यदल नै स्थापना गरेको छ । पाँचौँ विश्व सम्मेलनपश्चात् बनेको यस कार्यदलले संसारभरिका एनसीसी र एनआरएन व्यक्तित्वहरुलाई संलग्न गराई परोपकारी कार्यलाई अझ विस्तार गर्दै आएको छ । हरेक एनसीसीले आफ्नो कार्यकालभित्र कुनै न कुनै उल्लेख्य परोपकारी कार्य गर्दै आएका छन् । यसलाई अझ व्यापक बनाउनुपर्नेछ ।

हाम्रा परोपकारी प्रयासको परिणाम समष्टिगत रुपमा समाजले अनुभूत गर्न सक्ने बनाइराख्न हामी सम्पूर्णले समान भावनाका साथ काम गर्नुपर्ने हुन्छ । हरेक एनआरएनमा स्वस्फूर्त वा स्वचेतनाका रुपमा परोपकारी भावनाको विकास हुनुपर्छ । जबसम्म तुलनात्मक रुपमा सक्षम र धनी मानिसहरुमा स्वःस्फूर्त रुपमा आफूभन्दा कमजोरका लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारीबोधको हुँदैन, तबसम्म समाज र संसार सुसंस्कृत र शान्त पनि हुँदैन ।

व्यक्तिमा जिम्मेवारी बोधको भावना आएपछि मात्रै संस्था र समाजको समतामूलक विकास सम्भव हुन्छ । हामी आफू जिम्मेवारीबोध गर्दैनौँ तर राज्यलाई दोष पनि दिन्छौँ, अनि संस्थालाई पनि दोष दिन्छौँ भने त्यो न्यायोचित हुँदैन । त्यसैले पहिला हामी आफै जिम्मेवार बनौँ । स्वदेशप्रतिको दायित्व, गाउँघर अनि पिछडिएको समुदाय र क्षेत्रप्रतिको दायित्व पूरा गरौँ जुन केही मात्रामा गर्दै पनि आएका छौँ ।

स्वदेशका गाउँहरु अस्थायी झुपडीले भरिएका छन् । भुकम्प पछि त एक केही जिल्ला भर नै पाल मात्रैमा जिवान बिताउने सम्पूर्ण परिवार छन् । तपाईँ हामी पढ्ने विद्यालयहरु भत्किएका छन् । त्यहाँका बालबच्चाले विभिन्न कारणले विद्यालय जान पाएका छैनन् । गए पनि कतिपय ठाउँमा तुइनमा झुण्डिएर गएका छन् । एउटा शिक्षक नभएर दुईतीन घण्टा हिँडेर टाढाको विद्यालय पुग्न बाध्य भएका छन् ।


यसको सर्वोत्तम रुप पछिल्लोपल्ट नेपालमा गएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण उत्पन्न भएको मानवीय संकटका क्रममा प्रकट भयो । यसबाहेक पनि नेपाल र नेपालीको हितमा प्रवासी नेपालीले आफूले खाई नखाई, गाँसै काटेर समेत योगदान गरेका छन्, विभिन्न स्वरुपमा । तर, अझै पनि कुरालाई बढीभन्दा बढी काममा परिणत गर्न आवश्यक छ ।
हामीसँग भएको प्राविधिक, व्यावसायिक र आर्थिक दक्षताको प्रायोग केही मात्रामा भए पनि देखिने गरी नै भएको छ । त्यसलाई थप बढाउन हामी लाग्नै पर्छ । राज्यले हामीसँग गरेको अपेक्षा पनि यही हो ।

उच्च शिक्षा, व्यवसाय र रोजगारीको खोजीमा हामी प्रवासिन पुग्यौँ । र, विश्वभर छरिएर रहेका छौँ । तर, जहाँ बसेर कर्म गरे पनि हाम्रो मन नेपाली नै छ, पुस्तौँपुस्तासम्म नेपाली नै भइरहनेछ । त्यसैले जन्मथलोप्रतिको आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास एनआरएनमार्फत भएको छ भन्न हामीलाई कुनै हिच्किचाहट छैन । तर यो पनि पक्का हो त्यो पर्याप्त छैन । गर्न बाँकी र गर्न सक्ने पक्ष धेरै छन् । नेपाल सरकार र नेपाली समाजले एनआरएनहरुलाई दिएको सम्मान भनेको हामी प्रतिको बिश्वास र अपेक्षा हो । अर्थात्, राष्ट्रको विकास र समुन्नतिको एक भरपर्दो साझेदारको रूपमा एनआरएनएलाई लिने दृष्टिकोणको विकास भएको छ ।

हामीलाई नेपाल राज्यले दिनुपर्ने धेरै कुरा दिइसकेको छ । अब हामीले यो मुलुकको विकास, समृद्धि र उन्नतिका निम्ति के–कति योगदान गर्न सक्छौँ, त्यसमा केन्द्रित हुनुपर्छ । नेपाल यतिबेला पुनःनिर्माणको चरणमा छ । भूकम्पपछिको पुनःनिर्माण त छँदै छ । संविधान जारी भएपछिको यो अवस्थामा स्वदेशले पनि आर्थिक बिकाशलाई प्रमुख बनाउदै छ । यो अवस्थमा हाम्रो विदेशमा रहेको जनशक्ति, तिनले आर्जेको अनुभव, सीप र पुँजी महत्वपूर्ण आधार हुनेछ ।

समग्रमा मातृभूमिको छवि उच्च पार्दै मुलुकको अर्थिक विकास, पर्यटन र संस्कृति प्रवद्र्धनमा गैरआवासीय नेपालीले सक्दो योगदान गर्ने निर्णय हेरक सम्मेलनले गर्दै आएको मात्रै होइन, त्यसको कार्यान्वयमा जोडबलका साथ लागिएको छ । यो नै हाम्रो कर्तव्य पनि हो । नेपालको आर्थिक समृद्धि र नेपालको शिर उँचो हुँदा, अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा वृद्धि हुँदा नै हामी एनआरएनहरुको छवि स्वतः वृद्धि हुनेछ । कमजोर र गरीब मुलुकका नागरिक हुनुको हीनताबोध त तपाईँ हामीले भोगी नै रहेका छौँ ।

नेपालको संविधानले एनआरएनलाई पनि नागरिकता दिने व्यवस्था गरेसँगै राज्यका तर्फबाट हामीलाई स्नेह, पहिचान र सम्मान मात्रै प्राप्त भएको छैन, हामीमाथि थप दायित्व र जिम्मेवारी समेत सुम्पिएको छ । यसको मर्म र महत्व बुझेर आ–आफ्नो क्षेत्रबाट नेपालको विकास र समृद्धिका लागि जुट्नु हामी सबैको कर्तव्य हो । मातृभूमि नेपाल र विश्वभर छरिएका नेपालीलाई जोडेर यो माहौल सिर्जना गर्न युरोप क्षेत्रको भुमिका स्वभााविक रुपमा प्रमुख रहन सक्छ ।

किनभने, युरोप एनआरएनएको जन्म क्षेत्र मात्रै होइन हरेक अभियानको नेतृत्व लिन अग्रसर हुने र त्यसलाई सफलता पुर्वक अगाडि बढाउने क्षेत्र पनि हो ।
मूलतः यो विश्वभर छरिएका नेपालीलाई एउटै मञ्चमा आबद्ध गर्ने प्रयासस्वरुप जन्मिएको संस्था हो । हाम्रो एकीकृत शक्ति र भावनालाई आफ्नो मातृभूमिप्रति समर्पित गर्ने प्रयास पनि हो यो । संगठन निर्माण, परिचालन र विस्तारमा एउटा सिंगो पुस्ताको अथक प्रयास रह्यो ।

आज यो संस्था जसरी विश्वव्यापी सञ्जालको स्वरूपमा झाँगिएको छ र संसारभरका गैरआवासीय नेपालीको एकमात्र छाता संस्थाको परिचय जुन उचाइमा पुगेको छ, त्यसले विगतका सारा दुःखहरूलाई बिर्साउँछ । अझ अर्काे पुस्ता जसरी सशक्त र परिपक्व भएर देखापर्दैछ, त्यसले झन् धेरै आशा, अपेक्षा, सम्भावना र सन्तोषको संकेत गरेको छ ।

(यो लेख गत महिना कोपेनहेगनमा आयोजित गैरआवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनका अवसरमा प्रकाशित स्मारिकाबाट साभार गरिएको हो—सं. )