१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा नेपालको पर्यटन प्रवद्र्धन

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार ११:००

काठमाडौं । बेलायतको लण्डनमा यही कात्तिक २२ देखि २४ गतेसम्म आयोजित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले आफ्नो सहभागिता जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तब्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेला विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । जर्मनीको बर्लिनमा मार्च (फागुन) मा प्रत्येक वर्ष आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन’ (आइटिबी) मेला विश्वकै पहिलो पर्यटन मेला मानिन्छ ।
बोर्डको नेतृत्वमा २३ वटा निजी क्षेत्रका पर्यटन संस्थाको सहभागिता रहेको उक्त मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।
मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क र विस्तारलाई पुनर्ताजकी गर्ने अवसर मिलेको थियो । नेपाल प्रवद्र्धनका सामग्री राखिएको नेपाली स्टलमा बेलायत र आसपासका मुलुकबाट आएका पर्यटन व्यवसायी, टूर अप्रेटर, निजी कम्पनी तथा मिडियाका प्रतिनिधिले उत्सुक्तातापूर्वक अवलोकन गर्नुका साथै नेपालको अवस्था र विभिन्न पर्यटकीय गन्तब्यबारे जिज्ञासा राखेका थिए ।
मेलामा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी नेतृत्वको नेपाली राजदूतावासको टोलीले नेपाल स्टलको अवलोकन गरेको थियो । चर्चित मिडिया बिबिसी र मेला आयोजक डब्लुटिएममा बोर्डका सिइओ जोशीले नेपालको पर्यटकीय गन्तव्य र नयाँ सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।
यसअघि लण्डनस्थित नेपाली राजदूतबासमा आयोजित ‘नेपाल नाइट’ कार्यक्रममा बेलायतका चर्चित टुर अप्रेटर तथा नेपाली व्यवसायीबीच अन्तक्र्रिया भएको थियो । विविध सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुवेदीले दुई देशबीचको परम्परागत सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै बेलायतबाट नेपालको पर्यटनले लाभ लिनसक्नुपर्ने धारणा व्यक्त गर्नुभएकोे बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।