१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडक आंशिक बन्द

sarusaru
२७ कार्तिक २०७४, सोमबार ०२:५३

नारायणगढ । निर्माणाधीन नारायणगढ–मुग्लिन सडक हिजो आइतबारबाट आंशिकरुपमा बन्द हुने भएको छ ।
बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म बीच बीचमा पटकपटक बन्द गर्दै खोल्दै निर्माणको काम जारी राख्ने निर्णय भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । शनिबार सो सडक दिनभर नै बन्द थियो । दिनभर सडक बन्द गरेर खस्ने खतरा रहेको चट्टान झारेको आयोजनाले बताएको छ ।
‘बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म सडकमा गाडीको चापको अवस्था हेरेर बीचबीचमा हामी गाडी रोक्दै काम गर्ने निधोमा पुगेका छौं’ नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए । यसरी गाडी रोक्दा एक ढेड घण्टासम्म रोक्ने र छाड्ने प्रवन्ध मिलाएको उनले बताए ।
अघिल्ला वर्षहरुमा कम्तिमा छ घण्टा लगातार सडक बन्द गरेर निर्माणको काम हुने गर्दथ्यो । यो पटक चुनाव सुरू भएका कारण मतदाताहरुलाई आवतजावतमा समस्या पर्ने देखेर लगातार बन्द गर्न गाह्रो भएको हो । ‘मतदाताको आवतजावतको विषय मात्रै नभएर निर्वाचनसम्बन्धी अन्य कामका लागि पनि अहिल्यै लगाताररुपमा बन्द गर्न नसकिने अवस्था रह्यो’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने ।
यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहरदोहर गर्छन् । हाल साढे पाँच किलोमिटर चौडा यो सडकलाई एसियालीस्तरको दुई लेनको बनाउन नौदेखि ११ मिटर चौडा बनाइँदै छ । सन् २०१५ को अप्रिलमा सम्झौता भएर निर्माणको काम सुरू भएको थियो । सम्झौता गर्दा दुई वर्षभित्र काम सक्ने भनिएको थियो ।
सम्झौता अनुसार सडक निर्माण पूरा हुने अवधि गत वैशाखमै हो । तर, अहिलेसम्म करिब ६० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । पटकपटक म्याद थप गर्दै काम पूरा हुने अवधि आउँदो फागुनसम्म पु¥याइएको छ । तर, कामको प्रगति हेर्दा सो समयमा पनि निर्माण सम्पन्न हुने आधार देखिएको छैन ।
‘निकै असजिलो ठाउँको पहाड काट्न बाँकी नै छ । लगभग अझै पनि ८०० मिटर जति पहाड काट्ने काम बाँकी नै रहेका कारण गाडी रोक्नु परेको हो’ सूचना अधिकारी खनालले भने । गाडी रोक्दा जुगेडी नजिकको भतेरी जंगल, गाइघाटदेखि केराबारीबीचको क्षेत्र, सिमलतालदेखि भालु ढुंगासम्मको इलाका र मुग्लिन बजारमा रोक्ने व्यवस्था मिलाएको उनले बताए ।
नारायणगढ–मुग्लिन सडक ३६ किलोमिटर लामो छ । अहिले ३३ किलोमिटरमा विस्तारको काम भइरहेको छ । गाडी नरोकिँदा पनि यो दूरीको सडक पार गर्न घण्टौं लाग्ने पर्छ । बीचबीचमा एक घण्टा डेढ घण्टा रोक्न थालेपछि सो सडक हुँदै यात्रा गर्नु पक्कै पनि सहज नहुने देखिएको छ । सडक आयोजना कार्यालयले सम्भव भएसम्म वैकल्पिक मार्ग हुँदै जान अपिल गरेको छ ।

– चितवन पोष्टबाट ।