१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरो सपना : हुम्ली महिलाको मुक्ति

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७४, सोमबार ०६:४०

रंगमति शाही, समानुपातिक उम्मेदवार नेपाली कांग्रेस
नेपाली कांग्रेसले हुम्लाकी रंगमति शाहीलाई समानुपातिक उम्मेदवार बनाएको छ । गैरसरकारी संस्था खोलेर हुम्ली महिलाको मुक्तिका लागि योगदान दिएको बताउने रंगमति हुम्लाबाट कांग्रेसले संघीय र प्रदेशसभा निर्वाचनमा जित हात पार्ने बताउँछिन् । मंसिर १० गते हुने निर्वाचनमा हुम्लाको राजनीतिक चहलपहल, त्यहाँको महिलाको अवस्था र उनले पु-याएको योगदानबारे रंगमतिसँग कुमार राउतले गरेको कुराकानी–

० हुम्लामा चुनावी अभियान कसरी चल्दैछ ?
– अहिले हामी घरदैलो अभियानमा छौं, हुम्लाको भूगोल ठूलो भएकाले तीनवटा समूह बनाएर हामी घरदैलो अभियानमा जुटेका छौं । म चाहिँ अहिले आफ्नै गाउँपालिका सर्कीघाटमा खटिएको छु । दुई दिनपछि हामी सबैको भेट हुन्छ, त्यसपछि नयाँ रणनीति बनाएर कांग्रेसका लागि मत माग्छौं ।

० जनताको चाहना के रहेछ ?
– हामीले सरसर्ती बुझ्दा हुम्ली जनता नेपाली कांगे्रसलाई पुनः विजयी गराउन चाहन्छन् ।

० के आधारले भन्नुभयो ?
– हुम्लामा कांग्रेसका लागि वाम गठबन्धन नौलो होइन । यसअघि पनि कांग्रेसविरुद्ध गठबन्धन गरेर चुनाव लडेका थिए । तर जनताले कांग्रेसलाई नै छाने । यसपटक वाम गठबन्धन भनेका छन्, तर दुवै दलले आ–आफ्ना उम्मेदवार उठाएका छन् । उनीहरूबीच दैनिक झडपको अवस्था सिर्जना भइरहेको छ ।

० गठबन्धनको आन्तरिक द्वन्द्वले कांग्रेसलाई फाइदा पुग्छ भन्नुभएको हो ?
– होइन, हुम्लामा कांग्रेसको संगठन नै बलियो हो । प्रतिस्पर्धीको गठबन्धनले यहाँ खासै अर्थ राख्दैन भन्दा पनि हुन्छ ।

० जनताले के मागे ?
– बाटो, बिजुली र सञ्चार यहाँको आवश्यकता हो । आमजनताको माग भनेकै सुगम यातायात हो ।

० कांग्रेसको प्रतिस्पर्धी को ?
– हुम्लामा कांग्रेसको प्रतिस्पर्धी नै छैन भन्दा पनि हुन्छ । केही प्रतिस्पर्धा वाम गठबन्धनले उठाएको उम्मेदवारसँग हुन्छ होला । उनीहरूका बागी उम्मेदवारले पनि केही कम्युनिस्ट मत ल्याउन सक्छन् ।

० स्थानीय तहको निर्वाचनमा त कांग्रेसको संगठन राम्रो देखिएको थिएन त ?
– त्यसबेला आन्तरिक द्वन्द्वले कांग्रेस स्थानीय तहमा पराजित भएको हो । पार्टीले मिलाएर उम्मेदवार दिन नसक्दा कांग्रेसले त्यस्तो परिणाम भोग्नु परेको हो । त्यसबाट हुम्ला कांग्रेसले पाठ सिकेको छ । अहिले कांग्रेस एकढिक्का भएर संघीय र प्रदेशको चुनावमा होमिएको छ ।

० काठमाडौं बसेर हुम्लाको निर्वाचन विश्लेषण गर्दा हुन्छ ?
– म काठमाडौं बसेको छैन, हुम्ली जनताको न्यानो अंगालोमा बेरिएकी छु, कुनै काम विशेषले कहिलेकाहीँ राजधानी गएँ होला, नत्र अधिकांश समयमा यहाँ महिला दिदीबहिनीको साथमा छु ।

० हुम्ली दिदीबहिनीका लागि के गर्नुभयो ?
– मैले के गरेँ भनेर आफैले बयान गर्नु त्यति ठीक होइन । त्यसैले यहाँका जनताका लागि राम्रो गर्ने प्रयास गरिरहेकी छु ।

० आफूले गरेको काम भन्न मिल्दैन ?
– सुरुमा महिला मानवअधिकार रक्षक सञ्जाल नामको गैरसरकारी संस्था खोलेर हुम्ली महिलाको चेतना अभिवृद्धि र अधिकारको क्षेत्रमा काम गरें । अधिकारको क्षेत्रमा मेरो धेरै लगानी छ ।

० फेरिएको हुम्लाबारे भनिदिनुस् न ?
– चीनको नाका हिल्सासम्म गाडी पुगेको छ । पहिला चामल दिएर नुन लिन जान साता दिन लाग्थ्यो, अहिले नुन मात्र होइन अन्नसमेत चीनबाट आउँछ । अहिले पैसा मात्र चाहिन्छ, सबैथोक चीनबाट आउँछ ।

० पैसाको जोहो कसरी गर्ने ?
– पहिलाजस्तो अन्न उत्पादन हुन छाड्यो । श्रम र जडिबुटी बेचेर पैसाको जोहो हुन्छ ।

० महिलाको अवस्था ?
– महिलाको अवस्थाबाट म राम्ररी परिचित छु । महिला भनेका घरमा खाना पकाउने र बच्चा जन्माउने मिसिन मात्र हुन भन्ने पुरुष मानसिकता छ । छोरो नै जन्माउनुपर्ने, छाउगोठमा बस्नुपर्ने, घरेलु हिंसालगायत विविध समस्याले यहाँका महिलालाई गाँजेको छ ।

० त्यसका विरुद्ध केही गर्नुभएन ?
– मेरो लडाइँ नै ती विकृतिविरुद्ध हो । यो लडाइँ लड्दा मैले धेरै जोखिम उठाएकी छु, ज्यान मार्ने धम्कीसमेत आयो । केही विकृति विस्तारै हराएर जाँदैछ, महिलाहरू अन्यायविरुद्ध बोल्न सक्ने भएका छन् । अहिले हुम्ली महिलाहरूले मेरो आवश्यकता महसुस गरिरहेका छन् ।

० तपाईंविरुद्ध हिंसा भएन ?
– म अविवाहित हुँ, परिवार सम्पन्न र शिक्षित भएकाले घरेलु हिंसा सहनु परेको छैन । बुबा जिल्ला सभापति हुनुहुन्थ्यो । अहिले पनि राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ । भाइहरूको आ–आफ्नो पेसा र व्यवसाय छ ।

० विवाह किन नगर्नु भएको ?
– विवाहप्रति चासो गएन, अरुको हिंसा देखेर पनि मलाई वैवाहिक जीवन दिक्क लागेर आयो ।
० स्कुल कलेज पढ्दा लभ परेन ?

– म कूल देखिए पनि कडा स्वभावकी थिएँ, त्यसकारण कसैले आई लभ यू भन्ने हिम्मत गरेन । चाहने हो भने विवाह तुरुन्तै गर्न सक्छु, तर त्यसप्रति मेरो चाहना भएन ।

० अभिभावक त पूर्वपञ्च हुनुहुँदो रहेछ । तपाईं चाहिँ कांग्रेस ?
– हो, म आफूलाई जान्दादेखि नै कांग्रेसमा समाहित गरें, कांग्रेस संगठनका लागि योगदान दिएँ । महिला संघको अध्यक्ष भएर दुई कार्यकाल सेवा गरें, महिला संघमा केन्द्रीय सदस्य पनि भएँ । कांग्रेस महासमिति सदस्य छु, अन्तरपार्टी सञ्जालमा रहेर पनि काम गरें । पार्टीले ०६४ सालमा समानुपातिकको उम्मेदवार बनाएको थियो ।

० कांग्रेस किन ?
– अन्य राजनीतिक दलजस्तो झुटो सपना कांग्रेसले बाँड्दैन । यसका आदर्श र सिद्धान्त गरिब दुःखी जनतामा समर्पित छ । त्यसैले म नेपाली कांग्रेसले तय गरेको बाटोमा हिँड्न थाले ।

० यो बाटोबाट कहाँसम्मको यात्रा तय गर्नुहुन्छ ?
– पद मेरा लागि गौण हो, मेरो उद्देश्य भनेकै हुम्ली महिलाको मुक्ति हो । त्यसका लागि पार्टीले मलाई जहाँ आवश्यकता देख्छ, त्यहाँ गएर इमान्दार र अनुशासित ढंगले काम गर्छु ।

० अहिले पार्टीले उम्मेदवार बनाएन ?
– समानुपातिक उम्मेदवार बनाएको छ । पिछडिएको क्षेत्रका महिलाको सूचीमा पार्टीले मेरो नाम १ नम्बरमा राखेको छ ।

० विजयी बन्नुहोस् शुभकामना ।
– धन्यवाद ।