१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७४, सोमबार ०६:५४

काठमाडौं । तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वर (कात्तिक २५ गते) लाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्धाञ्जलि कार्यक्रम गरिँदै आएको समाजमा महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा राजदूत थापा, समाजका अध्यक्ष जीवन तमु, एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने नेपाली बीचको एकतामा जोड दिनुभएको थियो ।

गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो । पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले शहादत प्राप्त गरेको समाजमा महासचिव गुरुङको भनाइ छ ।