१५ बैशाख २०८१, शनिबार
Follow Us

रेमिट्यान्सबाट भित्रिएको ७ खर्ब रुपैयाँ कहाँ हराउँछ ?

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७४, सोमबार १४:४४

काठमाडौं । नेपालमा वार्षिक ७ खर्ब रुपैयाँ विपे्रषणका रुपमा भित्र्ने अनुमान छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने राष्ट्रिय गौरवका आयोजना निजगढमा निर्माधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सहजै बनाउन सकिन्छ । निजगढ विमानस्थलको अनुमानित लागत ६ खर्ब ७० अर्ब मात्र हो । यस्तै राष्ट्रिय गौरवका आयोजनाहरुमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ६.७ खर्ब, पश्चिम सेती जलविद्युत आयोजना १५ खर्ब, पूर्वपश्चिम विद्युतीय रेलमार्ग ३ खर्ब, तामाकोशी तेश्रो १ खरब, काठमाडौं, कुलेखानी, हेटौंडा सुरु मार्ग ४ अर्ब ७१ करोड, सिक्टा सिँचाई आयोजना २५ अर्ब, बुढीगण्डकी आयोजना ९४५ मेगावाट २ खर्ब २३ अर्बको लागत छ ।
तर विपे्रषणका रुपमा भित्र्ने यत्ति ठूलो रकम कहाँ हराउँछ त ? राष्ट्र बैंकका अध्ययनलाई आधार मान्ने हो भने नेपाल भित्रिने रकममध्ये ७० प्रतिशत ऋण भुक्तानी, निजी उपभोग, स्वास्थ्य, शिक्षालगायतमा हुन्छ ।
कूल ग्राहस्थ उत्पादनमा राष्ट्रिय बचतको अंश ४३ प्रतिशत भए पनि विपे्रषणबाट प्राप्त रकमको २८ प्रतिशत मात्र बचत हुने देखिएको छ । यो रकम पनि ७ खर्बलाई आधार मान्दा १ खर्ब ९६ अर्ब हुन आउँछ ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार सरकारले विप्रेषण प्रोत्साहन दिन व्यवस्था गरेर न्यूनतम ब्याजदरको सुनिश्चितता र लगानीमार्फत् थप आय हुने वातावरण बनाउन सक्यो भने विपे्रषणको सही उपयोग सम्भव छ । तर यसरी जम्मा हुने कोषको व्यवस्थापन सरकारको ग्यारेन्टीमा निजी क्षेत्रमार्फत् व्यवस्थित गरिनुपर्ने सुझाव पनि उहाँको छ ।
हाल विप्रेषणबाट प्राप्त बचत रकम पनि स्थिर सम्पत्तिमा बढी लगानी हुने गरेको देखिएको छ । विदेशिएका नेपालीले औषत वर्षमा ६ पटकसम्म रकम पठाउँछन । पछिल्लो समयमा विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामाफृत पठाउने चलन बढेको छ । करिब १० प्रतिशत रकम मात्र हुन्डी वा साथीभाइ वा आफन्तमार्फत भित्रिन थालेको छ । बैदेशिक रोजगारीमा जानेहरु सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी तिर्न बाध्य छन् । अध्ययनका अनुसार म्यानपावर कम्पनीहरुले सरकारले तोकेकोभन्दा दुई गुणा बढी रकम असुल्ने गरेका छन् ।

विश्वव्यापी रुपमा बढदो छ विप्रेषण
विश्व बैंकका अनुसार सन् १९८२ मा विश्वव्यापी रुपमा ४१ अर्ब अमेरिकी डलर बराबरको रकम आप्रवाह भएकोमा सन् २०१५ मा यो रकम १५ गुणाले बढेर ६ सय १ अर्ब अमेरिकी डलर पुगेको छ । ६ सय १ अर्ब अमेरिकी डलरमध्ये नेपालजस्ता विकासशील मुलुकमा ४ सय ४१ अर्ब अमेरिकी डलर भित्र्ने गरेको छ ।

बढी विप्रेषण भित्र्याउने २० मूलूक
विश्व बैंकको तथ्यांकअनुसार बढी विपे्रषण भित्र्याउने मुलुकमा र (कूल ग्राहस्थ उत्पादनको तुलनामा) नेपाल तेस्रो नम्बरमा पर्छ । नेपालको २९ प्रतिशतभन्दा बढी रकम भित्र्याउँछ । पहिलो नम्बरमा रहेको ताजर्किस्तानले करिब ४२ प्रतिशत र २० औं स्थानमा रहेको मार्सल आइल्यान्डले १४ प्रतिशत रकम भित्र्याउँछन् । कूल ग्राहस्थ उत्पादनलाई आधार मान्दा बढी विपे्रषण भित्र्याउने मुलुकको २० औं स्थानभित्र नेपालबाहेक दक्षिण एसियाका अन्य राष्ट्र अटाएका छैनन् ।
दक्षिण एसियामा रहेका ५ राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगादेशले समग्रमा करिब १ सय २२ अर्ब डलर वर्षेनी भित्र्याउँछन् । वैदेशिक रोजगार विभागको वार्षिक प्रगति विवरणअनुसार वि.सं. २०५० देखि ०७२-०७३ सम्ममा करिब ४४ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
नेपाल राष्ट्र बैंकले १६ जिल्लाका ३ सय २० घर परिवारलाई समेटेर तयार पारेको सर्वेक्षण प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका नेपालीको औषत मासिक ४० हजार रुपैयाँभन्दा बढी पठाउने गरेका छन् । विदेशिने मध्ये खाडी मुलुकमा करिब ५७ प्रतिशत र मलेसियामा करिब २७ प्रतिशत छ ।
सञ्जीव अधिकारीको रिर्पोट