१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनिता पौड्यालको समसामयिक कविता

sarusaru
२८ कार्तिक २०७४, मंगलवार ०४:५२

राजनीति

झुल्केन कहिल्यै झुपडीको पुर्वी झ्यालबाट उषाको किरण
न त झुपडी भित्रको अगेँनोमा कहिल्यै एक मानो अन्न पाक्यो,
सल्किनै सकेन सलाईको काँटी उसका काँपेका हातबाट
पाक्यो त केबल उसको दारी, जुङ्गा र केश पाक्यो
सल्क्यो र निभ्यो त केबल एक आशाको त्यान्द्रो
कहिल्यै फुलेनन् उसको आँगनीमा खुसीका मखमलीहरु
फुले त केबल कमजोर शरीरका नशा र धमनीहरु
कटुसको पातमा सुर्ती बेरेर
सल्काएको बिँडिको धुवाँ पअ…..र सम्म नियाल्दै
अड्कल काट्छ उसको बुढो दिमाग
“सिहंदरबार उतै हुनु पर्छ”
उसले पटकपटक आफ्ना हातका चक्रहरु बेचेको छ आफ्ना सपनाहरु लिन
पटक पटकको तिर्खामा पार्टीका झण्डा पिएको छ
र तिर्खै ओकलेको छ
लँगौटी र कछाडको भोकमा झण्डा भिरेको छ
किनकी अचेलका धारा, कुवा र पधेँराहरुमा झण्डा सजाईएका हुन्छन्
अनि मठ र मन्दिरमा पनि झण्डा बेरिएका हुन्छन्।
धमिलो प्रकाशमा जिन्दगी पढिरहेको एक अर्धचेत जिवनसँग
पटक पटक शिरको टोपीको कसम खुवाएको छ राजनीतिले
ए जिवन! मेरो लागी तिम्रा औलाका चक्र बेचिदिनु है!
भुलिदिनु झुपडीका काला दिन
नसम्झनु आँगनीका कहालीलाग्दा भीरहरु
र बिर्सीदिनु
तिम्रो भोको शरीर,
सुकेको आँत
अनि नाङ्गो शरीर
मुटुमा छाप बनि बसेका बिना रसका काहानीहरु भुलेर
लगाईदिनु सिहंदरबारको राजनीतिमा स्वस्तिक छाप
झुपडी भित्र बे स्वादका काहानीका भूकम्पहरुले
सिहंदरबार हल्लाउनै सकेन
पुरेन मनको पहिरोले सिंहदरबारको आँगन
बगेन जगैसंग राजनीति
आज त्यही जिवन सोचिरहेछ
यीनै कमजोर हातहरुले
कोरेर
एक सलाईको काँटी
जलाईदिउँ राजनीति
र पठाईदिउँ एक माना खरानी सिहंदरबार सिगार्न।