१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘फस्ट नेपाल–इन्डिया फ्रेन्डसिप फिल्म फेस्टिबल–२०१७’ सुरु

sarusaru
२९ कार्तिक २०७४, बुधबार ०५:३२

नेपाली र भारतीय कलात्मक चलचित्रलाई जोड्दै दुई देशका चलचित्रको सम्बन्ध जोड्नका लागि मंगलबारबाट काठमाडौंमा तीन दिवसीय ‘फस्ट नेपाल–इन्डिया फ्रेन्डसिप फिल्म फेस्टिबल–२०१७’ सुरु भएको छ ।

राजधानीको बबरमहलस्थित किंग्स कलेजमा सुरु भएको यो महोत्सवको आयोजना भारतको राजस्थानस्थित ‘रिफ फिल्म क्लब’ले गरेको हो । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सदियौंदेखि भएकाले यो सम्बन्धलाई सिनेमामार्फत पनि जोड्न आफूहरूले नेपाल भारतमैत्री चलचित्र महोत्सव आयोजना गरेको महोत्सव निर्देशक तथा रिफ फिल्म

क्लबका संस्थापक सोमेन्द्रनाथ हर्षले बताए । तीन दिनसम्म चल्ने यो महोत्सवमा नेपाली र भारतीय बैकल्पिक सिनेमामाथि बहससँगै फिल्म प्रदर्शन र नेपाली तथा राजस्थानी लोक नृत्य प्रस्तुत हुने पनि महोत्सव निर्देशक सोमेन्द्रले बताए ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवकी निर्देशक रम्यता लिम्बूले मंगलबार बिहान किंग्स कलेजमा सो महोत्सवको उद्घाटन गरिन् । महोत्सवले नेपाली र भारतीय सिनेमामार्फत । सम्बन्ध जोड्ने विश्वास उनले व्यक्त गरिन् ।

महोत्सवका सहयोगी एवं सञ्चारकर्मी÷वृत्तचित्र निर्देशक गणेश पाण्डेले राजस्थानमा सिनेमाको विकासमा लागेको रिफ फिल्म क्लबले काठमाडौंमा फिल्म महोत्सव गरेर नेपाली र भारतीय सिनेकर्मीलाई जोड्ने काम गरेको बताए ।

अस्कर इन्टरनेसल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल विनोद पौडेलले नेपालमा राजस्थानी सिनेकर्मीलाई महोत्सवका लागि स्वागत गर्दै उनले महोत्सवको प्रशंसा गरे । कलेजका विद्यार्थीका लागि समेत लक्षित गरेर आयोजना गरिएको यो महोत्सवको सफलताको उनले कामना गरे ।

महोत्सवमा पहिलो दिन मंगलबार दुईवटा सिनेमा प्रदर्शन गरियो । उद्घाटन समारोहमा महोत्सवमा सेनाङ ग्याम्जो तामाङको नेपाली फिल्म ‘झालो’ र नागेस कुनकुरको भारतीय फिल्म ‘दनक’ प्रदर्शन गरियो । मंगलबार नै चलचित्रको माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्धन शीर्षकमा महोत्सवमा अन्तक्र्रिया आयोजना गरियो ।

बिहान ९ देखि बेलुका ५ बजेसम्म जारी रहने महोत्सवमा बुधबार हिन्दी फिल्म आँखो देखि र गणेश पाण्डेको नेपाली वृत्तचित्त भाग्यले बाँचेकाहरू प्रदर्शन गरिने छ । बुधबार बिहान सामाजिक परिवर्तन सिनेमा शीर्षकमा छलफल हुनेछ ।

यस्तै बिहीबार महोत्सवमा हिन्दी फिल्म पर्चिड र नेपाली फिल्म डाइङ क्यान्डिल प्रदर्शन गरिने छ । बिहीबार डिजिटल मिडिया र फिल्मको उदाउँदो अवस्थाबारे बहस हुनेछ ।

– राजधानीबाट ।