१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रा. पिताम्बर शर्माले लण्डनमा प्रवचन दिनुहुने

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७४, बुधबार २२:३९

बेलायत-नेपाल प्रज्ञा परिषदको १५ औं वार्षिक नेपाल प्रवचन यसपटक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पिताम्बर शर्माले लण्डनमा दिनुहुनेछ।

आउँदो बिहीबार २३ नोभेम्बर बेलुका स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने कार्यक्रममा प्रा. शर्माले ‘नेपालको सङ्घीयता र विकास रणनीति’ का बारे आफ्नो विचारहरु राख्‍नुहुनेछ।
नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला संघीयताका चुनौती र नेपालको भावी विकास रणनीतिबारे प्रा. शर्माका विचारहरु निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ।

बेलायत-नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भन्नुभयो, “दश बर्षे जनयुद्ध र त्यतिनै समय द्वान्द्वोत्तर व्यवस्थापनमा खर्चेको नेपालको लागि संघीयता, स्थानीय स्वशासन र सन्तुलित क्षेत्रीय विकास अहिलेका टडकारा चुनौतीहरू हुन् । यति ठूलो संघर्ष गरेर प्राप्त उपलब्धिहरूको कार्यान्वयन कसरी होला भन्ने आम नेपाली र नेपालका हितैषीहरूको चासोको विषय हो। यस्तो समसामयिक विषयमा लण्डनमा प्राज्ञिक प्रवचन र छलफल हुन् लागेको छ।”

“स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष प्रो. शर्माका अनुसन्धान र अनुभवबाट खारिएका सारगर्भित विचार सुन्ने र छलफल गर्ने मौका यसपालीको नेपाल प्रवचनले जुटाइ दिएको छ । आशा छ बेलायतका नेपाली र नेपालसम्बन्धी चासो राख्ने प्रवुद्ध व्यक्तिहरूले यो अवसरको सदुपयोग गर्नु हुनेछ,” उहाँले भन्नुभयो।

कार्यक्रम सबैकालागि खुला रहेको र रिसेप्सन ५.३० बजे (साँझ) तथा प्रवचन एवम् प्रश्नोत्तर ६.३०-८.०० बजेसम्म हुनेछ।

सोआसकै साउथ एसियन इन्स्टिच्युटको आतिथ्य र समाजसेवी तथा व्यवसायी महन्थ श्रेष्ठको सहयोगमा
सो कार्यक्रम हुन लागेको बताइएको छ।

थप जानकारीकालागि:

[email protected] or [email protected]
Website: www.bnac.ac.uk https://www.facebook.com/BNAC.UK https://twitter.com/BNAC2014