४ बैशाख २०८१, मंगलवार
Follow Us

पैसाको चलखेल कम गर्न सरकारी निकायलाई आग्रह ः प्रमुख आयुक्त यादव

sarusaru
३० कार्तिक २०७४, बिहीबार ०२:३८

कार्तिक ३० , २०७४-प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा पैसाको चलखेल बढी नहोस् भन्नेतर्फ आयोगको चासो रहेको बताएका छन् । उनले त्यसमा आयोग एक्लैले नसक्ने भएकाले सरकार निकायहरु, नागरिक समाज र मिडियाको पनि प्रमुख भूमिका रहने बताए ।

नेपाल पत्रकार महासंघले बुधबार गरेको आमसञ्चार र निर्वाचन विषयक अन्तरक्रियामा यादवले पैसाको चलखेलमा ध्यान दिन र त्यसलाई आयोगले राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजस्व विभागजस्ता सरकारी निकायलाई समेत आग्रह गरिसकेको जानकारी दिए । ‘निर्वाचन आयोगको एप्रोच पैसाको चलखेल नहोस् भन्नेमा छ, आयोगले तोकेको खर्चको सीमाभन्दा पनि उम्मेदवारले कम खर्च गरुन् भन्ने हो,’उनले भने ‘तर, त्यसलाई आयोग एक्लैले नियन्त्रण गर्न सक्दैन । सम्भव पनि छैन । त्यसमा सबैले चासो राखिदिनु पर्छ ।’उनले राजनीतिक दललाई चन्दा दिँदा बैंकमार्फत कारोबार गर्न र पारदर्शिता अपनाउन आयोगले उद्योगी व्यवसायीलाई समेत आग्रह गरेको उल्लेख गरे ।

उनले बढ्दो सुरक्षा चुनौतीलाई आयोगले गम्भीरतापूर्वक लिएको भन्दै त्यसअनुसार सुरक्षा व्यवस्थाको भरपर्दो व्यवस्था मिलाउन सरकारलाई भनिएको बताए । ‘चुनाव नजिकएसँगै सुरक्षा चुनौती बढेको छ, प्रधानमन्त्री स्वयं गृहमन्त्रीको समेत जिम्मेवारीमा हुनुहुन्छ,’उनले भने ‘सरकारले सुरक्षा व्यवस्था भरपर्दो मिलाउने छ, भन्नेमा आयो विश्वस्त छ ।’उनले कुनै पनि प्रकारको सुरक्षा थ्रेटलाई सुरक्षा निकायले निस्तेज पार्ने विश्वास लिएको भन्दै त्यसले निर्वाचनलाई प्रभावित नपार्ने बताए । उनले निर्वाचनका बेला कानुन पालनाको अवस्था कमजोर हुन नदिन सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण आन्तरिक व्यवस्थापकीय तयारी भइसकेको समेत बताए । पहिलो चरणको मसिंर १० गतेको निर्वाचनका लागि जिल्ला जिल्लामा मतदान केन्द्रमा पठाइने जनशक्तिको खटन पटन सुरु भइसकेको भन्दै उनले हिमाली जिल्लामा हुने हिमपात चुनौती रहेको बताए । ‘हिमपातकै कारण आममानिसहरु आफ्नो स्थायी ठेगाना छाडेर सुरक्षित स्थलतर्फ अन्यत्र सर्न थालेको सूचना आएको छ,’उनले भने ‘मौसमको प्रतिकूलताले मतदाताको सहभागिता हुन्न कि भन्ने चुनौती छ । मतदाताको मतदान गर्ने अधिकार सुनिश्चित हुनुपर्छ । त्यसको व्यवस्थापन मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।’

आचारसंहिता अल्लघंनका घटनामा पूर्वप्रधानमन्त्री, मन्त्रीसम्मलाई स्पष्टिकरण सोधिएको भन्दै राजनीतिक संक्रमणकाललाई हेर्दै आयोगले उम्मेदवारी खारेजीसम्मको कठोर निर्णय लिन नसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले राजनीतिमा अपराधीकरण बढेको र त्यसको प्रभाव निर्वाचनमा देखिन थालेकोप्रति चिन्ता व्यक्त गरे । उनले चुनाव लक्षित हिंसा बढेकोप्रति आयोगको चासो रहेको बताए । ‘उम्मेदवारमाथि हुन थालेको आक्रमणका घटनाप्रति मानाव अधिकार आयोग चिन्तित छ,’उनले भने ‘त्यस्ता घटना हुन नदिनेतर्फ सरकार र निर्वाचन आयोग संवेदनशील हुनुपर्छ ।’उनले आचारसंहिता उल्लघंनका घटना बढेकाले निर्वाचन आयोगले कारबाहीको आँट गर्नुपर्ने सुझाए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारले गर्ने गतिविधिलाई आयोगले नियन्त्रण गर्नुपर्ने बताए । ‘आचारसंहिता उल्लघंनका सबै घटनाहरु आयोगले नियन्त्रण गर्न सक्दैन, किनभने ठूलो क्षेत्र छ,’उनले भने ‘तर, सरकारका तर्फबाट हुने आचारसंहिताविपरीतका गतिविधिलाई नियन्त्रण गर्न सक्नुपर्छ ।’

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचन सफल बनाउन सिंगो पत्रकारिता जगतले आफ्नो स्थानबाट सक्रिया भूमिका खेलिरहेको उल्लेख गरे ।

– कान्तिपुर समाचारबाट ।