८ बैशाख २०८१, शनिबार
Follow Us

घायलश्रीको दिदी ः कविता

sarusaru
३० कार्तिक २०७४, बिहीबार ०६:५१

आमाको बाँझोपन मेटाएर
यस धरतीमा पहिलो पटक तिमीले आँखा उघारेपछि
आमाले आफूलाई संसारकै सवैभन्दा भाग्यमानी सम्झिए पनि
छोरा जन्मिएपछि
गाउलेलाई भोज ख्वाउने
बाबाको सपनामा
एकाएक तुषारापात लाग्दा
परिवारको जुठो खाएर हुर्किएको
घरको त्यो झक्कले कालो बोकाले समेत
आङ् तनक्क तन्काएथ्यो रे !

तिमी जन्मिएको धेरै अन्तरालसम्म
छोराको आसमा तिम्रा धेरै बहिनीहरु
आमाको गर्भ मै नष्ट हुँदाको पीडा
सहन नसकेर
पटुकीले आफ्नो घाटी कसेर
यस संसारबाट बिश्राम लिन खोजेकी मेरी आमा
तिम्रो पोक्चे अनुहारले
मृत्युलाई समेत बिदाई गरेपछि
मैले यस संसार देख्न पाएको रहेछु ।

म जन्मिएपछि
गाउँभरि म जन्मिएको खवर पु–याउन
तिमी एक्लै काफि भयौ,
तीन खसी मिलेर
पुरै गाउँलेलाई रङ्गिन बनाई
बाबाको सपना पूरा गरे ।

मेरो सुसारे तिमी
सुसारकै कारण स्कुल देखिनौ
मेरो पढाइमा आफू रमायौ,
गल्ति गर्ने म
सजाय पाउने तिमी
तिमी रुँदा जितेको ठान्थें म
मेरो जीतको लागि
हरेक पटक रुने तिमी
बदलामा
म हौसिदै चुल्ठो समाई तिमीलाई घिसार्थें ।

मेरो दीर्घायूको कामना गर्दै
ओखर फोरिएको बिर्सिएर
तिम्रो बिहेको कुरा चल्दा
भाइलाई छोडि कहीँ जादिन भन्दै
भकारीभित्र गएर लुकेकी तिमीलाई खोजेर ल्याई
पराइको जिम्मा लगाउने म नै हुँ ।

पैसाका लागि दौडिएँ
सुखका लागि सहर रोजें
बाबु आमाको अन्तिम संस्कार गर्नसम्म
समय नभएको म
दागबत्ति दिन पाउदा तिम्रा हातहरु मुस्कुराए ।

पटुकीको भर्याङ् चढेर जीवन झार्न खोजेकी
आमालाई फुलाउने
तिम्रो पोक्चे अनुहार
मैले आँखा उघार्दा धरती छोड्न बाध्य
निर्दोष तीन प्राणी
तिमी जन्मिदा
आयु थपिएको त्यो झक्कलेको खुशी
दीर्घायूको ओखर
संस्कार बदल्ने तिम्रा सिम्रिके हातहरुबाट
अव फेरि एकपटक
समयले थलाएको यो शरिरलाई
ह्वील चियरमा राखेर
आँगनभरि सम्वन्धका ओखर फुलाउँन
सहरको एक चोक्टाबाट
दिदी, म तिम्रो गाउँतिर हेरिरहेछु ।

लोकनाथ भूषाल घायलश्री
बेनी , म्याग्दी