८ बैशाख २०८१, शनिबार
Follow Us

तीन प्रहरीविरुद्ध अपहरण मुद्दा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार १२:४८

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुका तीन प्रहरीविरुद्ध अपहरण मुद्दा अघि बढाइएको छ । एक व्यक्तिलाई बन्धक बनाएर पैसा असुल्ने तीन प्रहरीविरुद्ध अपहरण मुद्दा अघि बढेको हो ।
भारतीय गोर्खा सैनिकमा भर्ती हुन चाहनेहरुलाई कागजपत्र बनाउने काम गर्ने गंगा देवानलाई बन्धक बनाई गत असोज ८ गते उनीहरुले ५ लाख रुपैयाँ असुलेका थिए । बालुवा डिपोमा बन्धक बनाई पैसा मागेकाले अपहरण मुद्दा चलाउन लागिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
असई चन्द्रसिंह भाट, हवल्दार मनोज यादव र जवान पुष्कर साहविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण मुद्दा अघि बढाइएको हो । उनीहरुका सहयोगी विनोद थापा बगाली विरुद्ध पनि मुद्दा चलाइएको छ। उनीहरुलाई असोज १० गते अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। विशेष अदालतबाट धरौटीमा छुटेपछि उनीहरुलाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको छ।
४ जनामध्ये असई भाट परिसरकै हिरासतमा छन् । अन्य ३ जना धरौटी तिर्न नसकेर जेलमै छन् । सोही काण्डमा मुछिएका डिएसपी नवीनकृष्ण भण्डारी २ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । उनीविरुद्ध भने अपहरण मुद्दा चलाइएको छैन ।