११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन पदाधिकारी बैठक जारी: लाप्राक र आफ्नै भवन निर्माण पहिलो प्राथमिकतामा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार १४:११

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले नयाँ कार्ययोजनाको खाका तयार पार्ने कामलाई तिब्रता दिएको छ । ३ दिनसम्म चल्ने बैठकको पहिलो दिन भुकम्प पीडितहरुका लागि एनआरएनको महत्वपूर्ण योजनाका रुपमा रहेको लाप्राक नमुना वस्ती निर्माण, निमार्णाधीन एनआरएन भवन र शंखमुल पार्कका बिषयमा छलफल गरेको थियो ।

एनआरएनका यी महत्वपुर्ण योजनालाई कार्यसमितिले प्राथमिकतामा राखेकाले यसलाई चाँडोभन्दा चाँडो मुर्त रुप दिने बिषयमा कार्यसमितिले तयारी थालेको छ । बैठकमा यी परियोजनाका बारेमा कार्य बिवरण समेत पेश गरिएको थियो ।

आगामी दुइ बर्षमा गर्नुपर्ने कामको योजना तर्जुमाका साथै दोस्रो दिन बैठकमा संगठनका महत्वपुर्ण बिषयमा छलफल जारी रहेको प्रवक्ता भुषण घिमिरेले बताए । अध्यक्ष भवन भट्टको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले दोस्रो दिन सदस्यता, परिचयपत्र, सुचना प्रणाली र बिगतका समिति र टास्क फोर्सलाई चलायमान बनाउने बिषयमा छलफल भयो ।

शुक्रबार तेस्रो दिन कार्यसमितीले आफ्ना ठोस निर्णयहरु तथा आयोजना र परियोजनाका बारेमा निर्णयमा पुग्ने बतइएको छ । पहिलो पटक एनआरएनले पदाधिकारीको भौतिक उपस्थितिमा ३ दिने महत्वपुर्ण बैठक आयोजना गरेको हो । यसअघि साइबर क्याम्पमार्फत् बैठक हुन्थ्यो ।

हामी निर्वाचित भएर आएपछि सबै साथीभाइको उपस्थितिमा अग्रजहरुको सपना साकार पार्ने र हाम्रा नयाँ कार्ययोजना तर्जुमा गर्ने सल्लाह बमोजिम ३ दिने बैठकको आयोजना गरिएको अध्यक्ष भवन भट्टले बताए । उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता भनेकै लाप्राक र आफ्नो भवन हो, त्योसँगै संगठनलाई संस्थागत बनाउदै लैजाने अर्को प्रयासको पनि थालनी सुरु गरेका हौं ।’

उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य र महासचिब बद्री केसीले संगठनको प्रभावकारिताका बिषयमा ३ दिने बैठक महत्वपुर्ण हुने प्रतिक्रिया दिए ।