१५ बैशाख २०८१, शनिबार
Follow Us

उम्मेदवारलाई लक्षित गरी शृङ्खलाबद्ध बम विस्फोट

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार १३:५२

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले उम्मेदवारहरुलाई लक्षित गर्दै धमाधम एम्बुस र बम विस्फोट गराउन सुरु गरेको छ । आज शुक्रबार मात्र नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेशसभा (ख) का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ भने माओवादी हत्याहिंसाको केन्द्र मानिएको रोल्पामा पूर्वसभामुख ओन्सरी घर्ती मगर, मन्त्री कृष्णबहादुर महरा र वर्षामान पुनलाई लक्षित गरी बम प्रहार गरिएको छ । केही दिनअघि भोजपुरमा उम्मेदवारहरुलाई लक्षित गरी बम प्रहार गरिएको थियो । आज बिहान एम्बुस विस्फोटनबाट नुवाकोटमा नेपाली काँग्रेसका पाँचजना कार्यकर्ता घाइते भएका छन् भने उम्मेदवार महतद्वय सकुशल छन् । त्यस्तै रोल्पामा भएको बम प्रहारबाट कुनै मानवीय क्षति नभएको बुझिएको छ ।
चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए । त्यस्तै रोल्पामा लिवाङको सभालाई सम्बोधन गर्न जाँदै गर्दा ओन्सरी, कृष्णबहादुर र वर्षामान चढेको गाडी लक्षित गरी बम प्रहार गरिएको थियो ।
नुवाकोटमा बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली कांग्रेसले उम्मेदवार लक्षित आक्रमणको भत्र्सना गर्दै शान्ति सुरक्षामा कडाइ गर्न सरकारसँग माग गरेको छ ।