८ बैशाख २०८१, शनिबार
Follow Us

मत गणना एकसाताभित्र टुग्याइने

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार १४:२६

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा निर्वाचन भएको एक साताभित्रमा ल्याउन कर्मचारीहरुको संख्या बढाउने बताउनुभएको छ । उहाँले अधिकांश निर्वाचनको मतगणनास्थल विद्यालय भएको जनाउँदै मतगणनास्थलमा कर्मचारीहरुको संख्या बढाएर एकसातामा मतपरिणाम सार्वजनिक गरिने बताउनुभयो ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले मतगणनास्थल विद्यालयमा नराख्ने योजना भएपनि अधिकांश मतगणनास्थल विद्यालय परिसर भएका कारण पाँच दिनभित्र मतगणना सम्पन्न गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने र छिटोभन्दा छिटो मतपरिणाम सार्वजनिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको बताउनुभयो ।

प्रमुख आयुक्त यादवले अन्य भौतिक संरचना नभएका कारण मतगणनास्थल विद्यालयमा राख्नुपर्ने बाध्यता रहेको स्वीकार गर्नुभयो । उहाँले विद्यालय शान्ति क्षेत्र भएको उल्लेख गर्दै आचारसंहिता विपरित विद्यालयमा कार्यक्रम गर्ने राजनीतिक दलहरुलाई कारवाही गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको समयमा प्रयोग भएका विद्यालयहरुमा पठन पाठन अवरोध हुन नदिन हिउँदे बिदालाई कटौती गर्न समेत शिक्षा मन्त्रालयसँग छलफल गरिएको बताउनुभयो ।