१३ बैशाख २०८१, बिहीबार
Follow Us

वातानुकूलित शारीरिक व्यायामशाला सञ्चालनमा

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७४, शनिबार ०४:३४

काठमाडौं । सञ्चालनमा आएको एक हप्तामा नै अत्यधुनिक सुविधासम्पन्न तथा वातानुकूलित शारीरिक व्यायामशाला (फिटनेश पार्क) मा उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ । सुन्धारास्थित सिटिसी महलको आठौँ तलामा गत सोमबारदेखि सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको सो पार्क अहिले काठमाडौँका उच्चस्तरीय तथा मध्यमवर्गीय परिवारको व्यायामशालाका लागि पहिलो रोजाइ बन्न थालेको पार्कले जनाएको छ ।

बेलायतको उपकरण आयात गरी नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो पार्क करिब छ हजार वर्गफिटमा फैलिएको छ । यो ४०० जना अट्ने क्षमताको र अपांगमैत्री भएको पार्कका प्रबन्ध निर्देशक उत्तम सिलवालले जानकारी दिनुभयो ।

करिब रु पाँच करोडको लगानीमा स्थापित सो पार्कमा व्यायामशालाका लागि आधुनिक उपकरण तथा स्पासमेत छन् । उहाँले स्पाअन्तर्गत महिला पुरुषका लागि अलगअलग साउना, ज्याकुजी, स्टिम तथा बाथको व्यवस्था रहेको जानकारी दिनुभयो ।

पार्कभित्र जुम्बा र एरोबिक अभ्यासका लागि सुविधायुक्त वातानुकूलित कक्ष छ । पार्कका निर्देशक हरिशंकर पुरीले शारीरिक अवस्था सुहाउँदो व्यायामको व्यवस्था पार्कमा रहेको बताउनुभयो । व्यायाम प्रशिक्षणका लागि १५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक छन् ।
पार्कभित्र एकल स्टेशन जिम, ट्र्याम्पोलिङ र समूहगत साइक्लिङसमेत रहेको जनाइएको छ । शारीरिक व्यायामका क्रममा घाइते भएमा तत्काल प्राथमिक उपचार तथा वार्षिक बीमाको व्यवस्था रहेको बताइएको छ ।