१५ चैत्र २०८०, बिहीबार
Follow Us

वामपन्थी सरकार आएपछि बीएन्डसी अस्पताललाई सम्बन्धन

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७४, शनिबार १३:१८

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालको आफू साझेदार हुँदा पनि सम्वन्धन दिन नसकेको स्विकार गरेका छन् । अस्पतालले विर्तामोडमा आयोजना गरेको स्वास्थ्य महोत्सवको उदघाटन गर्दै दाहालले अस्पताललाई मेडिकल कलेजका रुपमा सम्बन्धन दिन आफू प्रधानमन्त्री रहदा प्रयास गर्दा पनि नसकेको बताएका हुन । चुनावपछि देशमा बलियो सरकार बन्ने र त्यो सरकारले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने उनको भनाइ थियो ।
प्रधानमन्त्री हुँदा दाहालले अस्पतालाई स्विकृति दिन खोजेका थिए । तर डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित नगरी कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन भन्दै अनसन बसेपछि प्रक्रिया रोकिएको थियो । स्वास्थ्य शिविर उदघाटनका लागि दाहालसँगै बिर्तामोड पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनको सरकार बनेपछि बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने बताए । विकास विरोधीहरुले सम्बन्धन रोकेको भन्दै ओलीले तीन महिनापछि फायल लिएर आउने वितिक्कै सम्वधन अस्पतालले स्विकृति पाउने बताए ।
आगामी सरकारले मेडिकल शिक्षाको अनुमति दिने र त्यसपछि मेडिकल शिक्षाका नाममा चुरिफुरी गर्ने एजेन्टहरुका चुरिफुरी बन्द हुने उनको दावि थियो । छ दिनसम्म सञ्चालन हुने महोत्सवबाट पूर्वका दश हजार सर्वसाधारणले लाभ लिने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर सिटी स्क्यान, एमआरआई र रेडियोलोजी सेवामा १५ प्रतिशत, ल्याव टेस्टमा २० प्रतिशत, शल्यक्रियामा २० प्रतिशत, औषधीमा १० प्रतिशत र ओपीडी सेवा निःशुल्क उपलब्ध हुने आयोजकले जानकारी दिएका छन् । महोत्सवमा स्वास्थ्य चिकित्सकसँग सम्बन्धित विज्ञ, विशेषज्ञहरुको समेत उपस्थिति रहने बताइएको छ ।