८ बैशाख २०८१, शनिबार
Follow Us

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७४, शनिबार १३:४४

बेँसीशहर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेसले आज बँेसीशहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्, काँग्रेस समस्या समाधान गर्छ, राणाशासन, पञ्चायती तानाशाही, जनयुद्ध र मधेश आन्दोलनको समाधान काँग्रेसले दिएको हो ।”

वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन गरी मुलुकको विकासका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । “हरेक विकासका सम्भावना बोकेको लमजुङले विकास गर्ने वातावरण पाउनुपर्छ,”– नेता पौडेलले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताउनुभयो । “मोटरबाटो, मेडिकल कलेज, विश्वविद्यालय, खानेपानी, रोजगारीलगायतको विकास काँग्रेसले गरेको हो,”– उहाँले भन्नुभयो ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका दिलबहादुर घर्तीले लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले वाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भए पनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

प्रदेश (ख) का उम्मेदवार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । प्रदेश (क) का उम्मेदवार गर्जबहादुर गुरुङले लमजुङका जनताको विकास र समृद्धिका लागि काँग्रेसको जित आवश्यक रहेको उल्लेख गर्नुभयो ।