१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्रपाका केन्द्रीय सदस्य र यूवा संघका संयोजक कांग्रेस प्रवेश

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १३:१६

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कपिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वामगठबन्धनका कारण देशमा लोकतन्त्र संकट पर्न सक्ने भन्दै थापा दुर्इ दर्जन कार्यकर्तासहित आइतबार कांग्रेस प्रवेश गरेका हुन्। ललितपुर १ले आयोजना गरेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलार्इ पार्टीमा स्वागत गरे। थापा तत्कालीन राप्रपा नेपालको ललितपुर जिल्ला सभापतिसमेत हुन्। लोकतान्त्रिक शक्तिलार्इ बलियो बनाउन आफू कांग्रेसमा प्रवेश गरेको उनले बताए। उनले भने, ‘लोकतन्त्रको भविष्यलार्इ लिएर चिन्ता उत्पन्न भएको छ लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको विकल्प छैन।’

राप्रपा ललितपुरका पूर्वजिल्ला कोषाध्यक्ष चिनियाराम बिष्ट पनि कांग्रेस प्रवेश गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य धनबहादुर केसी र नेकपा एमालेको भातृ संस्था यूवा संघ गोदावरी नगरपालिकाका अध्यक्ष सुरेश थापामगर पनि कांग्रेस प्रवेश गरेका छन् ।

राप्रपा एमाले र माओवादीबाट कांग्रेसमा प्रवेश गरेकाहरुलार्इ स्वागत गर्दै कांग्रेस नेता खाणले अधिनायकवादबाट देशलार्इ बचाउन एकतावद्ध हुने समय आएको बताए । उनले भने, ‘वामगठबन्धनका नाममा देशलार्इ फेरी अधिनायकवादमा लैजाने प्रपञ्च हुँदैछ, यसबाट बचाउन र देशलार्इ समृद्धितर्फ लैजान कांग्रेस बलियो हुनु आवश्यक छ ।’ उनले आसन्न निर्वाचन लोकतन्त्र पक्षधर र अधिनायकवादीहरुबीचको जनमतसंग्रह भएको टिप्पणी गरे ।
कार्यक्रममा अर्थराज्यमन्त्री एवम् कांग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार उदयशम्शेर राणाले शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकाले संविधानको कार्यान्वयनका लागि कांग्रेसको विकल्प नरहेको बताए । उनले वामगठबन्धन संविधानको खिलापमा रहेकाले संविधानको स्थायित्वका लागि कांग्रेसका पक्षमा उभिन आग्रह गरे ।

कांग्रेसका प्रदेश तर्फका उम्मेदवार ऋषिराम घिमिरेले कृषिलार्इ व्यवसायीकरण गर्न र उद्यमशीलतालार्इ बढाउन कांग्रेसलार्इ मतदान गर्न अपिल गरे। यस्तै प्रदेशतर्फका अर्का उम्मेदवार मीनकृष्ण महर्जनले युवालार्इ रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले वेरोजगार युवाहरुलार्इ राज्यले भत्ता दिनुपर्ने आफ्नो एजेण्डा रहेको समेत बताए।