१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोर्खा सैनिक थपिए

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार २०:२०

– नवीन पोखरेल, लन्डन ।

बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो । उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो ।

नेपालको दुर्गम गाउँदेखि क्याट्रिक ग्यारिजनको यात्रा तय गरेका गोर्खाहरुले झन्डै एक वर्ष अवधिमा अंग्रेजी भाषासहित धेरै कुरा सिके । कतिपय त यसअघि जहाज पनि नचढेका थिए । उनीहरु जीवनको नयाँ खुडकिलो उक्लन सफल भएकामा दंग देखिन्थे ।

‘वास्तवमा गोर्खाहरुले नेपाल र नेपालीको नाम विश्वभर राखेका छन्,’ परेडमा सहभागी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘गोर्खा हामी सबैको गर्वका विषय हुन् । उनीहरुले बेलायत र नेपालको सम्बन्ध थप सुदृढ पारेका छन् ।’

नेपाली राजदूतका साथ बेलायतको सशस्त्र फौजमन्त्री मार्क ल्यानक्यास्टर पनि निरीक्षणका लागि समारोहमा उपस्थित थिए । पूर्व क्विन्स गोर्खा इन्जिनियर ल्यानक्यास्टरले नै भूपू गोर्खाहरुको समान पेन्सनलगायत मुद्दा समाधानका लागि जारी वार्तामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

तालिम पूरा गरेपछिको परेडमा सहभागी गोर्खालाई ल्यानक्यास्टरले बधाई दिँदै सफलताको शुभकामना दिए । नयाँ पुस्ताले बेलायती सैनिकसँगको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिएकोमा उनले खुसी व्यक्त गरे । पहिलो दिनदेखि उनीहरुको तालिम नियालेका कमान्डिङ अफिसर प्रेम गुरुङले पास आउट समारोह गर्वको क्षणका भएको जनाए । ‘यहाँ देखिएका मध्ये कतिपयले तीन/चार पटकसम्म भर्ती हुन प्रयास गरेका थिए,’ गुरुङले भने, ‘सजिलै आजको दिन आएको होइन । उनीहरुलाई बेलायती सेनामा पुग्नका लागि सम्भवत: दुई तीन वर्ष लाग्यो ।’

उक्त अवसरमा गोर्खाहरुले तेक्वान्दो प्रदर्शन तथा खुकुरी नाच देखाएका थिए ।

इन्फेन्ट्री ट्रेनिङ सेन्टरले वर्षेनी २ हजार जनालाई प्रशिक्षण दिने गरेको छ । सेन्टरले आर्मी इन्फेन्ट्री ट्रेनिङ बटालियनबाट जिम्मेवारी लिइ गत १ मे १९९५ देखि तालिम दिन सुरु गरेको हो । बेलायती सेनामा सन् १८१५ देखि गोर्खाहरुको भर्ती सुरु भएको थियो ।