८ बैशाख २०८१, शनिबार
Follow Us

दूतावासमा ब्रिटेन नेपाल मेडिकल ट्रष्टको स्वर्ण जयन्ती

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार २०:२८

लन्डन । ४९ वर्ष अघि ब्रिटिश चिकित्सक तथा 
नर्ससहित ११ जनाको टोलीलाई स्थलमार्ग हुंदै नेपाल प्रस्थान गर्न सहज थिएन । विभिन्न युरोपेली मुलुक पार गरेपछि इरान, अफगानिस्तान र पाकिस्तानका विभिन्न शहरको यात्रा तय गर्दै त्यो टोली दिल्ली पुग्यो । दिल्लीबाट पटना, रक्सौल हुंदै 
अन्ततः २० मे १९६८ का दिन काठमाडौं पुग्दा एउटा नयां 
संसारमा आइपुगेको अनुभव आफूहरुलाई भएको उक्त टोलीका एकजना सदस्य डा. बार्नी रसडेलले बिहीबार सुनाए ।

टोलीका ११ जनामध्ये ६ जना सदस्य बिहीबार बेलुका लन्डनस्थित नेपाली दूतावासमा भेला भएका थिए । र, त्यो संयोग जुटाइदिएको थियो सन् १९६७ मा स्थापित ब्रिटेन नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) ले । ट्रष्ट स्थापनाको स्वर्ण जयन्ती मनाउन सो संस्थाका ट्रष्टीहरु, सहयोगदाता र तिनका परिवार टाढा टाढाबाट लन्डन आइपुगेका थिए । नेपाल पुगेको दुई वर्षभित्र ट्रष्टका स्वयंसेवी चिकित्सक तथा तिनका नेपाली सहयोगीहरुले सरकारी स्वास्थ्य कार्यकर्तासंग मिलेर झण्डै पांचलाख नेपाली बालबालिकालाई खोप लगाएको पनि डा. रसडेलले सम्झिए ।

एउटा औपचारिक समारोहलाई सम्वोधन 
गर्दै ट्रष्टकी सहअध्यक्ष डा. जिलियन हल्सवर्थले ट्रष्टले काम शुरु गर्दा नेपालमा जम्मा २०० जना डाक्टरमात्रै रहेको बताइन् । त्यसबेला संसारभरि नै झण्डै एकतिहाइ जनसंख्या क्षयरोगबाट ग्रसित भएकाले ट्रष्टले नेपालमा पनि क्षयरोगीको पहिचान र उपचारका लागि काम शुरु गरेको उनले बताइन् । गएको आधा शताब्दीमा नेपाली स्वास्थ्यकर्मीहरुलाई तालिम दिनुकासाथै नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको विकास गर्न तथा अहिले संसारमै नाम कमाएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको प्रारुप तयार गर्न पनि आफूहरुले योगदान पुरयाएको उनले स्मरण गरिन् । पांच वर्ष अघि नेपालमा ब्रिटेन नेपाल मेडिकल ट्रष्टको सहकर्मी संस्थाको रुपमा बिराट नेपाल मेडिकल ट्रष्ट दर्ता गरिएको पनि उनले जनाइन् ।