७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘इम्बोस्ड नम्बर प्लेट रिडर गेट जडान गरिँदै

sarusaru
४ मंसिर २०७४, सोमबार ०४:१९

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।

तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दैछ । सोही प्रणालीको माध्यमबाट अपराध गरेर भाग्न खोज्नेहरु केहीबेरमै समातिने यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तो छ तयारी

उपत्यकाका विभिन्न नाकामा ‘इम्बोस्ड नम्बर प्लेट रिडर गेट’ जडान गर्ने प्रक्रिया अगाडि बढेको हो । विभागका अनुसार पहिलो चरणमा नागढुंगा, जोरपाटी, नागार्जुन, साँगा र दक्षिणकाली नाकामा उक्त गेट जडान गरिँदैछ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार दोस्रो चरणमा उपत्यकाबाहिरका पाँच वटा मुख्य शहरमा पनि अत्याधुनिक प्रणाली जडान गर्ने तयारी छ ।

पहिलो चरणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको पाण्डेले जानकारी दिए । उनका अनुसार सम्बन्धित स्थानीय तहले जग्गा उपलब्ध गराएलगत्तै गेट जडान गरिने छ ।

इम्बोस्ड प्लेट छपाइको जिम्मा पाएको टाइगर-डेकाटुर कम्पनीले नै ती गेटहरु जडान गर्नेछ । उक्त प्रणाली सञ्चालनमा आएसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहयोग पुग्ने सरकारी विश्वास देखिन्छ ।

‘केही समयपछि सबै सवारी साधनलाई अनिवार्य रुपमा इम्बोस्डमा जान बाध्य पार्छौं । त्यसपछि आपराधिक गतिविधिमा संलग्न भएका सवारी भित्रिएको र बाहिरिएको रेकर्ड यस्ता गेटहरुमा रहनेछ,’ पाण्डेले भने ।

उपत्यकामा भित्रिएका र बाहिरिएका सवारी साधनको अभिलेख अटोमेटिक रुपमा सरकारलाई प्राप्त हुने भएकाले सोही आधारमा उपत्यकाको सवारी व्यवस्थापन प्रभावकारी बन्ने अपेक्षा रहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

यसरी चिन्छ गेटले सवारी साधन

इम्बोस्ड नम्बर प्लेटमा यान्त्रिक माध्यमबाट अंक र अक्षर राखिएको हुन्छ । नम्बर प्लेटको कुनामा सात वटा साना संकेत अक्षर राखिएका छन्, जसलाई रिडर मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि सुरक्षा ‘बार कोड’ राखिएको छ ।

प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिन सक्छ ।

प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सकिन्छ । उक्त विवरण सरकारको विद्युतीय अभिलेखमा सुरक्षित रहन्छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा एउटा चिप्स स्टिकर टाँसिएको हुन्छ । उक्त स्टिकरमा सवारी साधनका विस्तृत विवरणहरु राखिन्छन् ।

उक्त नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरण हुन्छन्, जसका आधारमा प्रहरीले सवारीको ‘डिटेल’ तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै जाँच गर्न सक्छ । राजमार्गहरुमा राखिने गेटले पनि सवारीको सूचना राखिरहेको हुन्छ ।

गेट वारपार गर्ने जुनसुकै सवारीका सबै विवरण मेसिनले ‘रिड’ गर्दै कम्प्युटर प्रणालीमा ‘अटो इन्ट्री’ गर्नेछ ।

सोही माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँमा पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छन् । उक्त सुविधाबाट प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विभागको भनाइ छ ।

२०७४ मंसिर ४ गते प्रकाशित

– अनलाइनबाट ।