१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एम्बुलेन्सले लियो ३ जनाको ज्यान

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार ०४:२८

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्लेको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज बिहान जानकारी दिएको छ ।

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको तथा मृत्यु भएका तीनै जनाको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।