१६ चैत्र २०८०, शुक्रबार
Follow Us

समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार ०४:५०

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । यसअघि दलहरुले बुझाएको सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनाको नाम हटाएर आयोगले अन्तिम सूची सार्वजनिक गरेको हो । आयोगले हिजो सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभातर्फ २ हजार २ सय ७३ र प्रदेशसभाका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम छन् ।

जस अनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम रहेका छन् । यसअघि दलहरुले गत असोज २९ गते पेश गरेको उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

मिति २०७४ कार्तिक १७ गते पेश भएको संशोधित बन्दसूची अनुसार कायम हुन आएका उम्मेदवारको संख्या ६०९४ थियो । बन्दसूचीमा संलग्न उम्मेदवार उपर उजुरी दिनको लागि मिति २०७४ कार्तक १८ देखि २४ गते सम्म समय तोकिएको थियो । सो मिति भित्र पर्न आएका उजुर बाजुर उपर कानुन अनुसार छानविन भई २५६ जना उम्मेदवारहरु अयोग्य ठहरिन आए जसमध्ये ३ जना उम्मेदवारले आफै आफ्नो उम्मेदवारी फिर्ता लिएको र दावी विरोध तथा कानुन बमोजिम योग्यता नपुगेका उम्मेदवार २५३ को उम्मेदवारी रद्द भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५८३८ जना उम्मेदवारहरु मध्ये समावेशी समूह अनुसार आदिवासी जनजाती समूहमा ७६७ जना पुरुष, ८८१ जना महिला र १ जना अन्य गरि जम्मा १६४९(२८.२५%) जना, खस आर्य समूहमा ८४५ जना पुरुष र ९४७ जना महिला गरि जम्मा १७९२(३०.७०%) जना, थारु समूहमा १५५ जना पुरुष र २४९ जना महिला गरि जम्मा ४०४(६.९२%) जना, दलित समूहमा ३३६ जना पुरुष र ४५९ जना महिला गरि जम्मा ७९५(१३.६२%) जना, मधेशी समूहमा ४३७ जना पुरुष र ५३५ जना महिला गरि जम्मा ९७२(१६.६५%) जना, मुस्लिम समूहमा ८० जना पुरुष र १४६ जना महिला गरि जम्मा २२६(३.८७%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधि सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ २२७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये १०४८ जना पुरुष उम्मेदवार, १२२४ जना महिला उम्मेदवार र १ जना अन्‍य लिङ्गको उम्मेदवारी कायम भएको छ, जस अनुसार पुरुष ४६.११ प्रतिशत, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम हुन आउँछ । २२७३ जना उम्मेदवार मध्ये समावेशी समूहको आदिवासी जनजातीमा जम्मा ६५५(२८.८२%), खस आर्य समूहमा जम्मा ७०३(३०.९३%), थारु समूहमा जम्मा १५१(६.६४%), दलित समूहमा जम्मा ३१५ (१३.८६%), मधेशी समूहमा जम्मा ३५५ (१५.६२%) र मुस्लिम समूहमा जम्मा ९४ (४.१४%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ प्रदेश नं. १ देखि ७ सम्ममा १५७२ जना पुरुष र १९९३ जना महिला गरि जम्मा ३५६५ जनाको उम्मेदवारी कायम भएको छ, जस अनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी देखिन्छ । प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ समावेशी समूह अनुसार प्रदेश सभा तर्फ आदिवासी जनजाती समूहमा ४४९ जना पुरुष र ५४५ जना महिला गरि जम्मा ९९४(२७.८८%) जना, खस आर्य समूहमा ५०२ जना पुरुष र ५८७ जना महिला सहित जम्मा १०८९(३०.५५%) जना, थारु समूहमा १०३ जना पुरुष र १५० जना महिला गरि जम्मा २५३(७.१०%) जना, दलित समूहमा १९३ जना पुरुष र २८७ जना महिला गरि जम्मा ४८०(१३.४६%) जना, मधेशी समूहमा २७७ जना पुरुष र ३४० जना महिला गरि जम्मा ६१७(१७.३१%) जना, मुस्लिम समूहमा ४८ जना पुरुष र ८४ जना महिला गरि जम्मा १३२(३.७०%) जनाको उम्मेदवारी कायम भएको छ ।