११ बैशाख २०८१, मंगलवार
Follow Us

जिम्बावेका राष्ट्रपति मुगावे पार्टीको नेताबाट बर्खास्त

sarusaru
४ मंसिर २०७४, सोमबार ०४:५७

जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ। मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन एक दिनको समयसीमा दिँदै पार्टीबाट निष्काशन गरेको जनाएको छ।

सत्तारुढ जानु पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरुलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको छ।

बिबिसीका अनुसार जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट सत्तारुढ पार्टीले नेताबाट हटाउँदै राष्ट्रपति पदबाट राजीनामा दिन भनेको हो।
पार्टीले पूर्व उपराष्ट्रपति इमर्सन मन्गावालाई नेताको रुपमा नियुक्त गरिसकेको छ। मन्गावालाई राष्ट्रपति मुगावेले बरियता विवादमा दुई साता अघि बर्खास्त गरेका थिए।

गत हप्ता जिम्बाब्बेको सेनाले राष्ट्रपति मुगावेलाई नियन्त्रणमा लिएर राजधानी हरारेस्थित उनकै निवासमा नजरबन्दमा राखेको छ। यद्यपि उनले पद त्याग गर्न अस्वीकार गर्दै आएका छन् ।

मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट हटाएलगत्तै जिम्बाब्वेमा वर्तमान राजनीतिक संकट सुरु भएको हो।

जानु-पीएफ पार्टीले ९३ वर्षिय मुगाबेलाई सोमबार सम्ममा राष्ट्रपति पदबाट राजीनामा दिन अन्यथा महाअभियोगको सामना गर्न भनेको छ।

पछिल्लो कदमले विगत केही दिनदेखि दबाब खेपिरहेका मुगाबेमाथि थप दबाब बढाउने अपेक्षा गरिएको छ।

गत बुधबार सत्ता हातमा लिएको सेनाले मुगाबेलाई उनकी श्रीमती ग्रेसलाई सत्ता हस्तान्तरण गर्नबाट रोकेको बताइएको छ।

यसैबीच मुगाबेले आइतबार सेनाका उच्च अधिकृतहरुलाई भेट्ने अनुमान गरिएको छ।

शनिबार मुगाबेको विरोध र सेनाको कदमको समर्थनमा दशौं हजार मानिस राजधानी हरारेको सडकमा प्रदर्शन गरेका थिए।

जिम्बाब्वेको प्रभावशाली भूतपूर्व सैनिक संगठनका प्रमुख क्रिस मुचाङगावाले मुगाबेले अब पदत्याग गर्नै पर्ने र त्यसो नगरे उनीविरुद्ध फेरि प्रदर्शन चर्काउने बताएका छन्।

मुगाबे विगत ३७ वर्ष देखि जिम्बाब्वेको राष्ट्रपतिको पदमा आसीन छन्।

– सेतोपाटीबाट ।