६ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा जहाँ गए पनि नेपाली ठोकिन्छन

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार ०६:०६

जानकी गुरुङ, सचिव, एनआरएन

गैरआवासीय नेपाली संघ (एनआरएन) की सचिव जानकी गुरुङलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लागेको छ । एनआरएन आठौं विश्व सम्मेलनमा सहभागी हुन बेल्जियमबाट नेपाल आएकी गुरुङ यतिबेला काठमाडौं–५ का कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महतको चुनावी अभियानमा छिन् । एनआरएन पदाधिकारी बैठक, छोरीको विवाह र आमनिर्वाचनले उनको नेपाल बसाई लम्बिएको हो । नेपाल बसाईको अनुभव, एनआरएन पदाधिकारी बैठक र अहिलेको निर्वाचनको सन्दर्भसँग कुमार राउत गुरुङसँग गरेको कुराकानी :

० नेपालमै बसोबास गर्ने गरी फर्किनुभएको हो ?
– होइन, एनआरएन विश्व सम्मेलनमा सहभागी हुन अक्टोबर १० मा नेपाल आएकी हुँ, निर्वाचनपछि फर्किंदैछु ।

० निर्वाचन पर्खिएर बस्नुभएको हो ?
– मेरा दुईवटा काम भएकाले नेपाल बस्नुपरेको हो । यसबीचमा छोरीको विवाह गर्नुपर्नेछ । त्यससँगै निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सहयोग पुग्छ भनेर बसेकी हुँ ।

० कुन निर्वाचन क्षेत्रमा बसोबास गर्नुहुन्छ ?
– मेरो घर चाहिँ काठमाडौं निर्वाचन क्षेत्र–५ हो, अन्य परिवारचाहिँ चितवनमा बसोबास गर्नुहुन्छ । म मतदाता भने होइन, निर्वाचनमा नैतिक र भौतिक सहयोग हुन्छ भन्ने मलाई लाग्छ ।

० कसलाई सहयोग गरिराख्नुभएको छ ?
– काठमाडौं–५ बाट उम्मेदवार बन्नुभएका कांग्रेस नेता डा.प्रकाशशरण महतको चुनावी अभियानमा सक्रिय सहभागी छु । उहाँको घरदैलो अभियानमा सरिक भइरहेकी छु ।

० तपाईंले समर्थन गर्नुभएको उम्मेदवारले जित्नुहुन्छ ?
– वाम गठबन्धनका नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले चुनावी प्रतिस्पर्धा ‘टफ’ देखिन्छ । यद्यपि मेरो वरिपरिको माहोल हेर्ने हो भने सबै कांग्रेसी भएकाले डा.महतको जीत सुनिश्चितजस्तो लाग्छ ।

० घरदैलो अभियान कस्तो पाउनुभयो ?
– उत्साहपूर्ण देखियो, डा.महतलाई जिताउन काठमाडौं–५ का जनता आतुर छन् जस्तो देखिन्छ । मेरो यो सरफेस विश्लेषण हो, गहिरिएर अध्ययन गरेकी छैन ।

० कांग्रेसलाई किन समर्थन ?
– म मात्र होइन, मेरो सम्पूर्ण परिवार कांग्रेस समर्थक हो । कांग्रेस पार्टीमा मेरा बुवाको समेत रगत पसिना बगेको छ । म विदेशमा बसेको भए पनि कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिको सल्लाहकार भएर संगठनमा योगदान पु¥याइरहेकी छु । मैले सन् २००० देखि नै पार्टीको शुभेच्छुक संस्था निर्माणका लागि योगदान पु¥याएको छु ।

० कति भो विदेश बस्न थाल्नुभएको ?
– दुई दशकभन्दा बढी भएछ । अहिले मेरो घर र व्यवसाय बेल्जियममा छ । पछिल्लो समयमा मेरो व्यवसाय नेपालमा पनि विस्तार गरेकी छु ।

० के व्यवसाय गर्नुहुन्छ ?
– रेस्टुरेन्ट र रेमिट्यान्सको । अहिले नेपालमा पनि यो व्यवसाय विस्तार गरेकी छु ।

० पानस नामसँग कुनै संयोग छ कि ?
– त्यस्तो केही छैन, पानस बेल्जियममा बेकरीको नाम हो, त्यो नाम मन प¥यो, त्यो नामको व्यवसायले राम्रै गरेको छ ।

० आर्थिक तरक्की पनि गर्नु भो होला नि ?
– त्यस्तो तरक्की गरेकी छैन, यद्यपि व्यवसायबाट परिवार सरभाइव भइरहेको छ ।

० कतिले रोजगारी पाएका छन् ?
– बेल्जियमको रेस्टुरेन्टमा १० जना र रेमिट्यान्समा दुईजना साथीहरू हुनुहुन्छ । नेपालको रेस्टुरेन्टमा आठजना र रेमिट्यान्समा पाँचजना स्टाफ हुनुहुन्छ ।

० व्यवसायमा पार्टनर होला नि ?
– छ, व्यवसाय एक्लोभन्दा पार्टनरमा गरियो भने आइडिया पनि सेयर हुन्छ । नयाँ आइडियाबाट प्रतिफल बढी लिन सकिन्छ ।

० रेमिट्यान्सको प्रवाह कस्तो छ ?
– खाडी मुलुकमा फैलाउन सकिएको छैन, पछिल्लो समयमा मलेसियामा खोल्ने तयारी गरेकी छु । अहिले नर्वे, डेनमार्क तथा युरोपको अन्य मुलुकबाट राम्रो भइरहेको छ । हाम्रो बजार अहिले अमेरिकामा विस्तार भएको छ । त्यहाँबाट राम्रो रेमिटयान्स नेपाल भित्रिरहेको छ ।

० एनआरएन आठौं विश्व सम्मेलनमा सचिव पदमा निर्वाचित हुनुभयो होइन ?
– हो, साथीहरूले जिम्मेवारी दिनुभएको छ । हेरौं अझ राम्रो गर्ने प्रयास गर्छु ।

० पदाधिकारी बैठक भर्खरै सकियो, कुनै उल्लेख्य निर्णय भएजस्तो लागेन ?
– बैठकपछि हामीले १७ बुँदे निर्णय सार्वजनिक गरेका छौं । लाप्राकको नमुना बस्ती, एनआरएन भवन, शंखमूलपार्क, ऊर्जा बचतको कार्यक्रमलगायत १७ वटा निर्णय भएका छन् ।

० खुला विश्वविद्यालयको मुद्दालाई छोड्नु भएछ नि ?
– हामीले खुला विश्वविद्यालयको मुद्दालाई छोडेका छैनौं । खुला विश्वविद्यालयबारे प्रमोद ढकालज्यूले हेरिराख्नुभएको छ । पुष्पकमल दाहालले सरकार छोड्नुअघि खुला विश्वविद्यालयका लागि पदाधिकारी नियुक्त गर्नुभएको थियो । नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले एनआरएनबाट तीनजनाको नाम माग्नुभएको थियो । विश्वविद्यालयमा भूमिका स्पष्ट नभएका एनआरएनले नाम सरकारलाई उपलब्ध गराएन । धुलिखेलमा सम्पन्न पदाधिकारी बैठकमा यसबारे केही छलफल भएकै हो ।

० बैठकमा पूर्वअध्यक्ष शेष घले उपस्थित भएनन् नि ?
– नेपालमा उपलब्ध पदाधिकारी सबै उपस्थित हुनुहुन्थ्यो, उहाँ कार्यव्यस्तताले नेपालमा नभएकाले उपस्थिति हुनुभएन होला ।

० एनआरएन नै त्याग्नुभएको त होइन ?
– होइन, उहाँ एनआरएनको महत्वपूर्ण हिस्सा हुनुहुन्छ, यद्यपि निर्णय गर्ने अधिकार कार्यसमितिको हो, उहाँबाट सल्लाह लिने मात्र लिइन्छ । विधानतः उहाँ प्रमुख सल्लाहकार हुनुहुन्छ । कुनै एउटा बैठकमा अनुपस्थित भए भन्दैमा एनआरएन नै छोडेको भन्न मिल्दैन ।

० बेल्जियममै नेपालीहरू मिलेको देखिँदैन ?
– सानो ठाउँ धेरै नेपाली भएर त्यस्तो देखिएको हो । विभिन्न पार्टीको संगठन छ, प्रायः सबै एकै लेबलका छन् । त्यो को हो र ? भन्ने अहं नेपालीमा देखिन्छ । जता गए पनि नेपाली ठोकिन्छ । धेरै नेपाली भएर त्यस्तो देखिएको हो । तर जुनसुकै संगठनमा रहे पनि नेपाल र नेपालीको हितमा सबै एकजुट हुन्छन् ।

० नेपाल र नेपालीका लागि के गर्नुभयो ?
– मैले के गरें भनेर आफै बेलिविस्तार लगाउन मिल्दैन । नेपालको दुर्गम क्षेत्रका महिलाका लागि केही गर्ने चाहना हो, त्यो हामीले गरिरहेका छौं । उनीहरूको स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउने काममा हामीले सहयोग गरिरहेका छौं । यसलाई अझ व्यापक बनाउँदै लैजान्छौं ।