११ बैशाख २०८१, मंगलवार
Follow Us

शीर्ष नेताहरु प्रचण्ड निवासमा, प्रचण्ड भोलिदेखि चुनावीसभामा

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७४, सोमबार १२:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई घरमै पुगेर समवेदना व्यक्त गरेका छन् । एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवा, झापाको चुनावी सभा स्थगित गरेर अध्यक्ष ओली सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरे । दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललेले समवेदना व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न ओली पत्नीका साथ दाहाल निवास पुगेका थिए । आकस्मिक हृदयाघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो ।
यसैबीच, अध्यक्ष दाहाल मंगलबार (भोलि) देखि नै चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनी भोलि वाम गठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा सहभागी हुने उनका भाइ नारायणप्रसाद दाहालले जानकारी दिए । ७ गते काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ ।