१५ चैत्र २०८०, बिहीबार
Follow Us

नक्कली नोटको बिगबिगी

sarusaru
५ मंसिर २०७४, मंगलवार ०२:१७

म्याग्दी – निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुईदिनअघि बेनीस्थित लोकदीप सहकारीमा पहिलोपटक हजार रुपैयाँ नक्कली नोट भेटिएको थियो। सोमबार मात्रै गरिमा विकास बैंक, प्रकाश मावि र एक किराना पसलमा एकै किसिमको हजार रुपैयाँको नक्कली नोट भेटिएको हो।

निर्वाचनको एक साताअघि श्रृंङखलाबद्ध भेटिएका यस्ता नक्कली नोटबारे प्रहरीले अनुसन्धान अघि बढाएको छैन। लोकदीप सहकारीका प्रबन्धक नेत्रराज पौडेलले नक्कली नोट भेटिएको जानकारी प्रहरीलाई खबर गरेपनि अनुसन्धान हुन नसकेको बताए। ‘अरु ठाउँमा भेटिएको हल्ला चले पनि हाम्रोमा पहिलोपटक यस्तो भेटिएको छ’, उनले भने, ‘निर्वाचनकै सिजनमा भेटिएकाले यो सुनियोजित हुनसक्छ। यस्तो भेटिँदा ग्राहकले हामीप्रति अलि कम विश्वास गर्नुहुन्छ।’

सहकारीहरूमा नोट पहिचान गर्ने मेसिन नहुँदा नक्कली र सक्कली नोट पहिचान गर्न समस्या भएपनि अधिकांश बैंकमा यो सुविधा रहेका कारण बैंकहरूमै बढी नोट भेटिने गरेका छन्।

– अन्नपूर्ण पोस्ट बाट ।