८ बैशाख २०८१, शनिबार
Follow Us

विप्लवका जिल्ला नेता पक्राउ

sarusaru
५ मंसिर २०७४, मंगलवार ०६:३७

बैतडी : नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीको घर डिलाशैनीबाट सोमबार साँझ नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । आफ्ना बुवाको ११ दिने क्रिया सकाएर घरमा बसिरहेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चुनाव विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा जोशीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने ‘चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइयो । ११ दिनको किरियापछि हामीले नियन्त्रणमा लिन बाध्य भयौं । चुनावको नसकिएसम्म जोशीलाई प्रहरी नियन्त्रणमै राखिनेछ ।’
चुनाव विरोध गतिविधिमा संलग्न भएको भन्दै यसै साता अन्य ६ जना नेकपा कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हरिलाल विक, अम्मर सार्की, प्रेमसिंह कार्की, वसन्तराज जोशी, गजेन्द्र चन्द र वासुदेव बोहरालाई नियन्त्रण लिइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालन गरिएको समेत प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान अधिकारीहरुलाई समेत परिचालन गरिएको छ ।
यस्तै भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । उनले भने ‘चुनावलाई लक्षित गरेर ७२ घण्टा सीमा बन्द गर्ने यसघि नै भारतीय अधिकारीहरुसँग सहमति भईसकेको छ । सीमामा हुन सक्ने अन्य गतिविधिलाई पनि हामीले नजिकबाट नियालीरहेका छौं ।’

– अन्नपूर्ण पोष्टबाट ।